
कोशी प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।
बिहीबारको प्रदेशसभा बैठकमा उनले मुख्यमन्त्री हिक्मतकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री सडान्नद मण्डलमाथि कडा प्रहार गरे ।
प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकार सुशासनको नारामा मात्र सीमित, बेथिति र आर्थिक अपारदर्शिताले चरम सीमा नाघेको आरोप लगाए । उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो सम्बोधनमा सुशासनको कुरा गरेपनि त्यो व्यवहारमा भने नदेखिएको बताएका छन् ।
सांसद आङ्बोले पछिल्लो समय चर्चामा रहेको ‘क्यूआर काण्ड’को विषय उठाउँदै सरकारको नियतमाथि प्रश्न गरे । ‘अहिले यो सरकारको नामै ‘क्यूआर सरकार’ भनेर चिनिन थालेको छ’, उनले भने, ‘संसद्मा पटक–पटक यो विषय उठ्दा सम्बन्धित मन्त्रीले गैरजिम्मेवार जवाफ दिनुभयो ।’
आङबोले अनाधिकृत व्यक्तिलाई सचिवालयमा राखेर काम गराउनु र कर्मचारीलाई आतंकित पार्नुले सरकारको सुशासनको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठेको बताए ।
‘मुख्यमन्त्रीज्यू सुशासनप्रति प्रतिबद्ध हुनुहुन्छ भन्ने लाग्थ्यो, तर उहाँको निरीहता देख्दा लाग्छ, यो सरकार कहाँबाट र कसले चलाइरहेको छ ?’, आङ्बोले भने ।
आङ्बोले सरकारभित्रै मन्त्रालयपिच्छे फरक व्यवहार भएको बताए । खानेपानी तथा सिँचाइ मन्त्रालयले रकमान्तर गरेर दिन खोजेको करिब १३ करोड रूपैयाँको भुक्तानी अर्थ मन्त्रालयले विनियोजन ऐन देखाएर रोकेको तर भौतिक पूर्वाधार मन्त्रालयको रकमान्तर भने मध्य असारमा सदर गरेको उनको आरोप छ ।