२४ जेठ २०८३, आइतबार
इन्धन आपूर्तिमा सहजता ल्याउने परियोजना

अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन : ९१ हजार किलोलिटर क्षमताको भण्डारण गृहनिर्माण हुने

साउन २६, २०८२
काठमाडौं
अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन : ९१ हजार किलोलिटर क्षमताको भण्डारण गृहनिर्माण हुने

भारतको इन्डियन आयल कर्पोरेसन(आईओसी)को आर्थिक सहयोगमा नेपालकै पहिलो आन्तरिक पेट्रोलियम पाइपलाइन निर्माण गरिने भएको छ । आईओसीको आर्थिक सहयोगमा ‘अमलेखगञ्ज–चितवन (लोथर)’ आन्तरिक पेट्रोलियम पाइपलाइन निर्माण हुने भएको हो ।

बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर दूरीको पाइपलाइन निर्माण प्रक्रिया शुरू भइसकेको छ । गत साउन १६ गते चितवनको लोथरमा फिल्ड कार्यालय स्थापनागरी प्रोजेक्टको शुरूआत गरिएको हो । 

कार्यालय स्थापन भएलगत्तै वातावरण प्रभाव मूल्याङ्कन(ईआईए) गर्ने काम र ल्यान्ड म्यानेजमेन्ट गर्ने कामको शुरूआत भएको अमलेखगञ्ज–चितवन (लोथर) पाइपलाइन आयोजना प्रमुख प्रदीप यादवले लोकान्तरलाई जानकारी दिए । ल्यान्ड म्यानेजमेन्ट भएलगत्तै पाइपलाइन र भण्डार गृह निर्माणको काम शुरू हुने उनको भनाइ छ ।

‘कार्यालय स्थापन भएलगत्तै हामीले काम शुरू गरिसकेका छौं । वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने काम शुरूआत भएको छ,’ उनले भने, ‘अब निरन्तर काम भइरहन्छ । बाटो बनाउने, माटो भर्ने रुख काट्नेलगायत काम धमाधम हुनेछन् ।’

नेपाल आयल निगमले इन्धनको सहज आपूर्तिको लागि पाइपलाइन कनेक्टिभिटीलाई पहिलो प्राथमिकताका राखेर गृहकार्य अघि बढाएको जनाएको छ । विभिन्न समयमा ट्याङ्कर व्यवसायीले गर्ने आन्दोलनका कारण इन्धन आपूर्तिमा असहज परिस्थिति उत्पन्न हुने गरेको छ । पाइपलाइन कनेक्टिभिटीले यस्ता समस्यालाई सधैंका लागि अन्त्य गर्ने लक्ष्य लिएको छ । आयल निगमले प्राथमिकतामा राखेको पाइपलाइन कनेक्टिभिटीको महत्त्वपूर्ण प्रोजेक्ट हो । 

नेपालको आयल निगम र भारतको इन्डियन आयल कर्पोरेसन(आईओसी)बीच भएको बीटूबी (बिजिनेस टु बिजिनेस) सम्झौताअनुसार अमलेखगञ्ज–लोथर पाइपलाइन ओछ्याउन लाग्ने खर्च भारतले व्यहोर्ने छ भने ग्रिनफिल्डसहितको भण्डार गृह निर्माणमा भारतको प्राविधिक सहयोग र निगमको आर्थिक सहयोग हुनेछ । अर्थात् आईओसीले ३ अर्ब २८ करोड ८० लाख (भारु) आर्थिक सहयोग गर्नेछ । बाँकी भने नेपाल आयल निगमले लगानी गर्नुपर्नेछ । त्यसमा आईओसीले प्राविधिक सहयोग गर्नेछ । 

null

राप्ती नदी नजिकै रहेको लोथरमा उक्त पाइपलाइनको भौतिक पूर्वाधार निर्माणको प्रक्रिया औपचारिक रूपमा शुरू भइसकेको छ । २०७३ सालमा नै आयल निगमले राप्ती नगरपालिका वडा नम्बर १ स्थित नदी किनारमा ७१ करोड ९ लाख ५८ हजार ६८४ रुपैयाँमा २३ विघा १२ कट्ठा ३ धुर जग्गा खरिद गरेको थियो । सोही जग्गामा निगमले अहिले अमलेखगञ्जबाट पाइपलाइन ओछ्याएर लोथरसम्म पाइपलाइन स्टेशन  बनाउँदै छ ।  जहाँ ९१ हजार ९ सय किलोमिटर क्षमताको भण्डारण गृहसहित ग्रिन फिल्ड टर्मिनल निर्माण गर्ने योजना छ ।

कस्तो बन्दै छ पहिलो आन्तरिक पेट्रोलियम पाइपलाइन ? 

बाराको अमलेखगञ्ज पाइपलाइन स्टेसनबाट पाइपलाइन जोडेर चितवनको लोथरसम्म पेट्रोलियम पदार्थ पुर्‍याउन यो परियोजना अगाडि बढाइएको हो । भारतको मोतिहारीबाट बाराको अमलेखगञ्जमा आइपुगेको पेट्रोलियम पदार्थ पाइपलाइन स्टेसनबाट पाइपलाइन जोडेर चितवनको लोथरसम्म पुर्‍याइनेछ । जहाँ ९१ हजार ९ सय किलोलिटर क्षमताको भण्डारण गृह निर्माण हुनेछ ।

झन्डै ५ वर्षअघि दक्षिण एसियाको पहिलो नेपाल–भारत अन्तरदेशीय मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको निर्माण सम्पन्न भएर अहिले सहज रूपमा डिजल आपूर्ति भइरहेको छ । 

लोथरमा बनाइन लागेको स्टेसनमा पेट्रोलतर्फ ११ हजार किलोलिटर क्षमताको तीन वटागरी ३३ हजार किलोमिटर, डिजेलतर्फ १५ हजार ५ सय किलोलिटर क्षमताको तीन वटागरी ४६ हजार ५ सय किलोलिटर, मट्टितेलतर्फ ८ सय किलोलिटर क्षमताको २ वटागरी १ हजार ६ सय र हवाई इन्धनतर्फ ३ हजार ६ सय किलोलिटर क्षमताको तीन वटागरी १० हजार ८ सय किलोलिटर क्षमता भएको भण्डारण गृह निर्माण हुनेछ । त्यस्तै, यसबाहेक दुई वटा ट्रान्समिक्स ट्यांक पनि निर्माण हुनेछ । 

यो ट्रान्समिक्स ट्यांकको क्षमता २५०–२५० किलोलिटर क्षमताको गरी कूल ५ सय किलोलिटर क्षमताको हुनेछ । यस्तै, चारवटा अन्डरग्राउण्ड ट्यांकसमेत निर्माण हुनेछ ।

पेट्रोलतर्फ ५० किलोलिटर, डिजेलतर्फ ५० किलोलिटर, मट्टितेलतर्फ ५० किलोलिटर र हवाईइन्धनको ५० किलोलिटर गरी २ सय किलोमिटर क्षमताको अण्डरग्राउन्ड ट्याँक निर्माण हुनेछ ।

यस परियोजनाको इन्डियन आयल कर्पोरेसन (आईओसी)ले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । डीपीआर अनुसार ओछ्याइने पाइपलाइनको व्यास १०.७५ इन्चको हुनेछ । जहाँ पाइपलाइनको चाप १७३.५ किलोप्रति वर्ग सेन्टिमिटर हुनेछ । यस्तै, पाइपलाइनबाट आउन इन्धनको गति २ सय ७३ किलोमिटर प्रतिघण्टाको हुनेछ ।

पाइपलाइन, भण्डारण गृह र ग्रिन फिल्ड टर्मिनल निर्माणमा कूल ८ अर्ब ८१ करोड भारतीय रुपैयाँ (१४ अर्ब ९ करोड ६० लाख नेपाली रुपैयाँ) खर्च हुनेछ । डीपीआरअनुसार लोथरमा १६० वर्गमिटर क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण गरिनेछ ।

आईओसीबीच भएको सम्झौताअनुसार सम्झौता भएको साढे चार वर्ष अर्थात् ५४ महिनामा परियोजनाअन्तर्गत सम्पूर्ण निर्माण कार्य सक्नु पर्ने जनाइएको छ । 

२०८१ असोज १७ गते भारतको नयाँ दिल्लीमा भारतको सिलगुढी–झापा(चारआली) र बाराको अमलेखगन्ज–चितवन (लोथर) दुई पाइपलाइन निर्माण गर्ने विषयमा सम्झौता भएको थियो । त्यसअघि भारतसँग २०८० जेठ १८ गते ३ बुंदे सरकारद्वारा सरकारलाई (गर्भमेन्ट टु गर्भमेन्ट (जीटुजी) समझदारी भएको थियो । भारतको सिलगुढी–चारआली र बाराको अमलेखगन्ज–चितवनको लोथरसम्म दुई वटा पाइपलाइन र ग्रिन फिल्डसहितको भण्डारण गृह निर्माण गर्ने बिषयमा उक्त जीटूजी समझदारी भएको थियो । 

सम्झौताअनुसार अमलेखगञ्ज–लोथर पाइपलाइनको अगाडि बढी सकेको छ । भने यता सिलगुढी–झापा(चारआली)को काम पनि अगाडि बढाइन लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्