नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ३ देखि ८ गतेसम्म आयोजना गर्ने १७औँ संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरी अटो शोको प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन औपचारिक आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीले आग्रहलाई सहर्ष स्वीकार गरेका छन् ।
अध्यक्ष चौधरीले नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू तथा इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधानहरू समावेश गरिने जानकारी दिए ।
यस पटकको शोमा पहिलोपटक नेपालमा प्रदर्शन हुन लागेका ‘UNETREE Robots’ र ‘Deepal EVTOL UAV’ जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू मुख्य आकर्षण रहनेछन् ।
भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती लगायतका पदाधिकारीहरूको पनि उपस्थिति थियो ।