
नजिकका केही दाजुभाइको बहिष्कारबीच काभ्रेमा तीन जना छोरीहरू बाबुको काजक्रियामा बसेका छन् । बुवा हरिप्रसाद सापकोटाको निधन भएपछि तीन छोरीहरू विमला, निर्मला र राधिका सापकोटा काजक्रियामा बसेका हुन् ।
हर्टअट्याकका कारण ९१ वर्षको उमेरमा पनौती नगरपालिका- १ पर्खाल चौरका हरिप्रसाद सापकोटाको आइतबार निधन भएको थियो । निधनपछि तीनजना छोरीहरूले बुबालाई दागबत्ती दिएका थिए । किरियाकर्ममा बसेका छोरीमा विमला बनेपा नगरपालिकाकी उपप्रमुख हुन् । निर्मला शिक्षक र राधिका एमाले धादिङ जिल्ला कमिटीकी सचिव हुन् ।
छोरीहरू सानै हुँदा आमाको निधन भएको थियो । त्यसपछि बाबु हरिप्रसादले छोरीहरूलाई हुर्काउने, बढाउने र पढाउने गरेका थिए । छोरा नभए पनि आफूहरूलाई कर्म दिने बाबुको निधनपछि दागबत्ती दिने र काजक्रिया गर्ने प्रण गरेका थिए । तर, नजिकका दाजुभाइले बहिष्कारजस्तो गरेपछि तीन दिदीबहिनी काजक्रियामा बसेको स्थानीय राजकुमार सापकोटाले जानकारी दिए ।
‘आमाको सानैमा निधन भएपछि बुबाले कर्म, शिक्षा सबै दिनुभयो । यसैले उहाँको निधनपछि छोरीहरूले समाजलाई हामी गर्छौं र गर्न दिनुस् भन्नुभयो । तर नजिकका दाजुभाइहरूले नरुचाएजस्तोगरी बहिष्कार गर्नुभयो । ढिकुरो बनाउन आउनुभएन,’ सापकोटाले भने, ‘उहाँहरूले विभेदविरुद्ध हामी उत्रिन्छौं भनेर आँट गर्नुभयो । यसैले हामी केही दाजुभाइले साथ दियौं ।’
एमालेको राजनीतिसमेत गर्ने सापकोटाले सचेत महिलाहरूलाई नै समाजले गर्ने विभेदले चेतनाको तहलाई पुष्टि गर्ने बताए ।

‘तीनै जना छोरीहरू सचेत वर्गमा पर्नुहुन्छ । एक जना उपमेयर एकजना एमालेको जिल्ला तहको नेता र वकिल हुनुहुन्छ । अर्को शिक्षक र हुनुहुन्छ,’ सापकोटाले भने, ‘यो तहमा पुग्नुभएका महिलालाई अझै पनि हेर्ने समाजको दृष्टिकोण यस्तो छ, यस्तो गरिन्छ भने हाम्रो समाजको चेतनाको तह कति पछौटे छ भनेर बुझ्न सकिन्छ ।’
समाजले बाबुको काजक्रियामा अवरोध गरेपछि उपमेयर विमलाले आफूहरूको कदमले हजारौं छोरीहरूमाथि न्याय हुने बताएकी छिन् । ‘ख्याल गर तिमीहरूले चलाएको बहस कानून र संविधानको पनि बर्खिलाप छ । हामीले गरेको यो कामले हजारौं छोरीमाथि न्याय हुनेछ । खबरदार यो छलफल र बहस रोकी हाल हामी बहिष्कार हुन तयार छौ,’ सापकोटाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘१३ दिन हाम्रो बुवाको घरमा बसेर काजकिरिया गर्न देऊ पीडा नदेऊ । १३ दिनपछि सधाको लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने छौं । समाजको डर लाग्नेहरू कृपया हामीलाई साथ दिनुपर्ने बाध्यता नसम्झनु होला, तपाईं स्वतन्त्र हुनुहुन्छ ।’

बाबुको काजकिरिया गर्दा सामाजिक बहिष्कारको बैठक बसेको भन्दै उपमेयरले पीडामाथि पीडा नथप्न आग्रह गरेकी छिन् । ‘यो समाज र दाजुभाइ भन्नेहरूले हामीलाई पीडा माथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ,’ उनले लेखेकी छिन्, ‘हामीले अरू कसैको वंशमा दखल गरेका छैनौं । हामी अब थप पीडा सहन सक्ने अवस्थामा छैनौं ।’

अघिपछि विभिन्न कार्य गर्ने बाहुनले पनि छोरीहरूबाट काजक्रिया गर्न अस्वीकार गरेको सापकोटाले जानकारी दिए । त्यसैले अन्यत्रबाट दीपक सुवेदीलाई ल्याएर काजक्रिया गराएको जानकारी सापकोटाले दिए ।