
नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३ हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कुँवरलाई सोमबार नापी कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोली त्यहाँ पुगेको थियो ।
आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको मोबाइल २ थान, सोही कार्यालयका सर्भेक्षकको मोबाइल १ थान र कार्यालय सहयोगी कुँवरको साथबाट घुसवापत लिइएको १३ हजार नगन र मोबाइल १ थान बरामद गरेको छ ।
कुवँरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।