
एनआईसी एसिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने गरी सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता भएको छ ।
समझदारीसँगै बैंकका ग्राहकहरूले पहिलो पटक सिजी इन्टरनेट र आईपीटीभीको सेवा लिँदा व्यक्तिगत सेवामा २५ सय रुपैयाँ र संस्थागत रूपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका छन् ।
ग्राहकहरूले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २५ सय रुपैयाँ छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।
उनका अनुसार, इन्टरनेटसँगै आईपीटीभीको सेवा लिने नयाँ ग्राहकहरूले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, हाल सेवा लिइरहेका ग्राहकले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्ने उनले जानकारी दिए ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले सेवा लिनु पूर्व सिजी कम्युनिकेसन्स लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्ने छ ।
सिजी कम्युनिकेसन्ससँगको यस सहकार्यले यस बैंकका ग्राहकहरूलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकको छ ।