२२ जेठ २०८३, शुक्रबार

बैतडीको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

साउन २७, २०८२
बैतडी
बैतडीको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

बैतडीको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती भएको छ । चार दशकअघि निर्माण भएको कारागार जीर्ण छ । 

जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती थपिएको कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताए । 'यो २५ जना क्षमताको बन्दीगृह हो । तर अहिले ६३ जनालाई राखिएको छ । बन्दीगृहमा ५३ कैदीबन्दी र १० जना थुनुवा छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुरक्षासहित उचित व्यवस्थापन गर्न समस्या हुने गरेको छ,' उनले भने ।

दशकौँ पुरानो कारागार जीर्ण बनेको बताउँदै भण्डारीले महिला कैदीबन्दी राख्ने ठाउँ नभएपछि महिला बन्दीलाई डडेल्धुरा पठाउने गरिएको जानकारी दिए । खाटमाथि खाट राखेर बन्दीको बसाइँ व्यवस्थापन गरिएको उनको भनाइ छ ।

प्रमुख भण्डारीले भने, 'जस्तापाताले छाएको जीर्ण भवनमा वर्षात्को समयमा पानी चुहिने समस्या छ भने हिउँदमा शीत झर्ने समस्या छ । यसका साथै खानेपानी आपूर्ति र सरुवा रोगको पनि जोखिम छ ।'

विसं २०४० मा निर्माण भएको कारागार भवन जीर्ण भइसक्दासमेत नयाँ भवन बन्न सकेको छैन । उनका अनुसार चालु आवदेखि नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले आगामी असोज–कात्तिकदेखि काम शुरू हुनेछ ।

सघन सहरी तथा भवन निर्माण आयोजना डोटीमार्फत १० करोडको लागतमा भवन निर्माणका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो । साथै खानेपानी आयोजनाका लागि प्रदेश सरकारले रु १० लाख विनियोजन गरेको प्रमुख भण्डारीले बताए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्