
नेप्से एआई नामक एप डाउनलोड गर्दा लाखौं रूपैयाँ गायब भएको तथ्य सार्वजनिक भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा यस विषयमा उजुरी समेत दर्ता भएको छ। ब्यूरोका अनुसार नेप्से एआई एप डाउनलोड गर्दा एउटा व्यक्तिको मात्रै २८ लाख ६१ हजार रूपैयाँ बैंक खाताबाट गायब भएको पाइएको छ ।
सेयर बजारको विश्लेषण गर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा आएको नेप्से एआई नामक एपको विज्ञापन देखिएको र त्यसलाई डाउनलोड गर्दा विभिन्न बैंक खातामा रहेको उक्त रकम गायब भएको उजुरीकर्ताले ब्यूरोमा जानकारी गराएका छन् ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार यस्ता उजुरीहरू थुप्रै आएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमा यस्ता विज्ञापन आउने गरेको र त्यस्ता एप डाउनलोड गर्दा बैंकको पैसा गुम्ने गरेकोतर्फ सर्वसाधारण सजक हुनुपर्ने बताए ।
ब्यूरोले गुगल एप स्टोर र आईओएसजस्ता आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न आग्रह गरेको छ । त्यस्तै, टु फ्याक्टर अथेन्टिकेशन कोड राख्न, बेलाबेला पासवर्ड परिवर्तन गर्न, सामाजिक सञ्जालमा देखिएको विज्ञापनको तथ्य बुझेर मात्र गर्न, एनिडेस्क र टिम भ्युअरजस्ता रिमोट एक्सेल अरुलाई नदिन ब्यूरोले सर्वसाधारणमा अपिल गरेको छ ।