
संघीय निजामती विधेयकबाट ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था गायब भएको विवादमा तानिएका प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधनमार्फत् खतिवडाले राजीनामा दिएका हुन् ।
‘कुलिङ पिरियड जसरी पनि राख्नुपर्छ भनेर अड्डी लिएको थिएँ । हिजो पनि थिएँ, आज पनि छु, भोलि पनि रहनेछु’ खतिवडाले सम्बोधनका क्रममा भने ।
अवकाशको समय नजिकिँदा कर्मचारीको उच्च नेतृत्त्व भोलिको लागि पद सुरक्षित गर्न जस्तोसुकै काम गर्न तयार भएको उनले आरोप लगाए । ‘स्थायी सरकार हामी हौं,अरु अस्थायी हुन्’ भन्ने मानसिकता कर्मचारीमा देखिएको उनले बताए । अवकाशपछि नभए राजीनामा दिएकाको हकमा पनि दुई वर्षको कुलिङ पिरियडको सहमति भएको खतिवडाले बताए ।
‘त्रुटी हुन गएको साँचो हो । विधेयक लेखनमा त्रुटी भएको हो । तर, मबाट भएको होइन । मबाट यस्तो त्रुटी भएको होइन भन्ने विश्वास गराउन चाहन्छु’, उनले भने, ‘आशंकापूर्वक अध्ययन नगर्नु मेरो मात्रै कमजोरी हो कि संसद्को पनि हो ? हामी सांसद पनि अध्ययन गर्दैनौं भन्ने देखिएको छ ।’
यसरी राखिएको प्रावधान सच्याउन पनि लागेको उनले बताए । राज्य व्यवस्था समितिको मनसाय अनुसार राष्ट्रियसभाबाट दुई वर्षको कुलिङ पिरियड राखेर आउने विश्वास उनले व्यक्त गरे ।
‘राजनीतिमा गरेको कामको जस नपाउने, नगरेको सजाय भोग्नुपर्नेरहेछ । म राजनीतिमा किसुजनीको अनुयायी हुँ, नखाएको विष लाग्दैन । पदलाई भन्दा प्रश्नलाई माथि राखेर हेर्छु’, खतिवडाले भने, ‘रामहरि दोषी हो भनेर प्रतिवेदनमा किटान गरिएको छैन । न राजीनामा दिनुपर्छ भनेर उल्लेख गरिएको छ । न प्रचलित कानून अनुसार कारबाही गर्नुपर्छ भनेर उल्लेख गरिएको छ । तर, छानबिन समितिको प्रतिवेदनमा जिम्मेवार शब्द प्रयोग गरिएकोले राज्य व्यवस्था समितिको सभापतिबाट हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्छु ।’
कुलिङ अफ पिरियड छेडखानी सम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सभापतिका रूपमा खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने भनेको थियो ।