१० साउन २०८३, आइतबार

एभरेष्ट महिला भलिबल लिग : ​बुल्गेरियाकी निकोलाएभाले काठमाडौं स्पाइकर्सबाट खेल्ने

साउन २७, २०८२
काठमाडौं
एभरेष्ट महिला भलिबल लिग : ​बुल्गेरियाकी निकोलाएभाले काठमाडौं स्पाइकर्सबाट खेल्ने

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको आगामी संस्करणमा काठमाडौं स्पाइकर्सले बुल्गेरियाकी खेलाडीलाई अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले बुल्गेरियन खेलाडी पोलिना निकोलाएभा निकोभालाई भित्र्याएको हो ।

आगामी संस्करणका लागि काठमाडौं स्पाइकर्सले भित्र्याएको उनी पहिलो विदेशी खेलाडी हुन् । २७ वर्षीया पोलिना निकोलाएभा निकोभा सेटर पोजिसनमा खेल्छिन् । उनीसँग बुल्गेरियाका अतिरिक्त फ्रान्स र अजरबैजानका क्लबबाट पनि खेलेको अनुभव छ ।

उनको आगमनले आफ्नो टोली अझ सन्तुलित र मजबुत हुने विश्वास काठमाडौं स्पाइकर्सले व्यक्त गरेको छ । पहिलो सिजनमा पनि बुल्गेरियाकै सेटर आन्द्रे स्भेतानोभाले काठमाडौं स्पाइकर्सबाट खेलेकी थिइन् ।

पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्स दोस्रो सिजनमा अझ बलियो भएर आउने विश्वास पनि क्लबले व्यक्त गरेको छ । एभरेष्ट महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।

‘अन्य दुई विदेशी खेलाडी पनि छिट्टै घोषणा गर्नेछौं,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य स्पाइकर उषा भण्डारी काठमाडौं स्पाइकर्सकी मार्की खेलाडी हुन् ।

काठमाडौं स्पाइकर्समा मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्द छन् । टोलीको मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा रहेका छन् । वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्