
नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर-३, को उपनिर्वाचनमा आकांक्षीमध्येबाट एक जनालाई सर्वसम्मत उम्मेदवार बनाउने तयारी गरेको छ ।
यसका लागि क्षेत्रीय कमिटीबाटै एक जनालाई सिफारिस गर्नेगरी छलफल चलाएको छ । एमाले जिल्ला कमिटी रुपन्देहीको मंगलबार बुटवलमा बसेको सचिवालय बैठकले सर्वसम्मत उम्मेदवार छनोटका लागि क्षेत्रीय कमिटीबाटै टुंगो लगाउनेलगायतका निर्णय गरेको प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलले जानकारी दिए ।
उनले उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न क्षेत्रीय कमिटीमै टुंगो लगाउन जिल्ला पदाधिकारीलाई जिम्मेवारी तोक्ने, आसन्न विधान महाधिवेशनको मस्यौदा अध्ययन गरि सुझाव पेस गर्ने, अपानिको अक्षरश: कार्यान्वयन गर्नेलगायतका निर्णय गरिएको बताए ।
पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशी पौडेल, सिद्धार्थनगर नगरपालिका पूर्वनगर प्रमुख तथा प्रदेश सदस्य हरिप्रसाद अधिकारी, स्थानीय यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रूपमा आकांक्षा व्यक्त गरेका छन् ।
जनता चुनाव जित्नेगरी सर्वसम्मत रूपमा उम्मेदवार चयन गरिने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले जानकारी दिए । २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित दीपक बोहोराको २०८१ चैत १९ गते निधनपछि उक्त पद रिक्त छ ।
कार्तिक १७ हुने उपनिर्वाचनलाई एमाले, रास्वपा, नेपाली कांग्रेस लगायतका दलले प्रतिष्ठाको विषय बनाएका छन् । यसअघि २०७९ को निर्वाचनमा एमालेले राप्रपाका बोहोरालाई सघाएको थियो ।