
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । मंगलबार साँझ प्रदेशसभामा भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् ।
विश्वासको मतको पक्षमा ६३ प्रदेशसभा सदस्यले मत दिए भने विपक्षमा २२ मत परेको छ । यसैगरी ७ सदस्य तटस्थ रहेका छन् ।
११० सदस्य रहेको बागमती प्रदेशभामा मंगलबारको बैठकमा ९२ जना सांसद सहभागी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि उनले मंगलबार विश्वासको मत लिएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव मंगलबार अघि बढाएका थिए ।