
काठमाडौंको नागार्जुन नगरपालिका– ३ का शंकर पौडेलले पतञ्जलि ब्रान्डको भाडा धुने साबुन र डिटरर्जेन्ट पाउडर खरिद गरे । तर, पौडेलले खरिद गरेको साबुन र डिटरर्जेन्ट पतञ्जलिजस्तै देखिने अर्कै नामबाट थियो ।
झट्ट हेर्दा उस्तै देखिने खालका नक्कली ब्रान्डहरूका विषयमा पौडेलले साउन १२ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिए । ब्रान्डजस्तै देखिने र उस्तै बुझाउने नक्कल उत्पादनले उपभोक्तालाई झुक्याएको भन्दै यस्ता क्रियाकलाप रोक्न उनले विभागमा उजुरी दिएका थिए ।
एक दिनअघि साउन ११ गते सूर्यविनायक नगरपालिकाकी कुसुम लामाले पनि नक्कलगरी उत्पादन गरिएका वस्तुहरूको बिक्री वितरण बन्द गरिदिन भन्दै विभागमा उजुरी दिएकी थिइन । अहिले बजारमा भारतीय ब्रान्ड पतञ्जलिका डिश वाश र डिटरर्जेन्ट पाउडरजस्तै हुबहुँ देखिनेगरी उत्पादन गरिएका वस्तुहरूको बिक्री वितरण रोक्न उजुरी दिएकी थिइन्।
कुसुम र शंकरले दिएको उजुरीका आधार विभागले अनुगमनमा टोली पठायो । विभागले काठमाडौं अपत्यकाका अधिकांश खुद्रा पसलहरूमा पतञ्जलीजस्तै नक्कल गरिएका वस्तुहरू फेल पार्यो ।

सुनसरी जिल्लामा चौटरी इन्डस्ट्रिनजबाट उत्पादन भएको भन्दै ‘पत्तिजली’ नामक डिटरर्जेन्ट पाउडर बिक्री भइरहेको छ । यो बजारमा भारतीय ब्रान्ड पतञ्जलि, सुपर डिशवासको हुबहु कपी हो । डिजरर्जेन्टमा उल्लेख गरिएको मूल्य पनि फरक–फरक राखेको पाइएको छ ।
यसका साथै अन्य पनि उस्तै प्याकिङ, डिजाइन, साइज, कलर, वस्तुको नाम, लेबल आदिजस्ता बाहिरी प्याकेजिङ हुबहुँ बनाएर बिक्री भइरहेको छ । विभागले हुबहुँ नक्कल गरिएका कन्काई, जुम, आहा सुपर, भिसी सुपरलगायत ब्रान्डहरू फेला पारेको छ ।

तर, यी सबै नक्कल गरिएका अथवा उस्तै हुबहुँ उत्पादन गरिएका उत्पादनलाई अवैध अथवा चोरी गरेको भन्न नमिल्ने विभागका महानिर्देशक कुमारप्रसाद दहाल बताउँछन् । सबै प्रक्रिया पुर्याएर बजारमा बिक्री वितरण गरिरहेको वस्तुलाई अवैध भन्न नमिल्ने उनको भनाइ छ । ‘हाम्रो बजारमा यस्ता नक्कलगरी उत्पादन गरिएका तथा हुबहुँ कपी गरिएका ब्रान्डहरू छन् । उजुरी पनि आइरहेका हुन्छन् । अब यसलाई सिधै अवैध अथवा यस्तो गर्न मिल्दैन भन्न सकिँदैन’, उनले भने, ‘विशेषगरी उपभोक्ताको पाटोबाट विभागले कारबाही अगाडि बढाइरहेको छ । यसका उद्योग विभागको क्षेत्र पर्ने भएकोले ट्रेडमार्कलगायत विषयहरू हामीले केही गर्न मिल्दैन । उद्योग विभागमा नै फाइल पठाउँछौं ।’
मार्टहरूमा प्रतिबन्धित बिरे नुन
काठमाडौंको पुतलीसडक न्यु प्लाजा अगाडि रहेको ‘गुड मार्ट’मा भारतीय रक साल्ट बिक्री भइरहेको पाइएको छ । रक साल्ट अर्थात् बिरे नुन अथवा ढिके नुन नेपालमा प्रत्यक्ष आयात गर्न मिल्दैन । साल्ट ट्रेडिङ कर्पोरेशनले मात्रै नेपालमा नुनको आयात र बिक्री वितरण गर्दै आएको छ । यसबाहेक कसैले पनि प्रत्यक्ष कुनै पनि प्रकारको नुन ल्याउन मिल्दैन । तर, यसरी मार्टमा विभागले भारतबाटै प्याकेजिङ भएको बिरे नुन फेला पारेको हो ।

भारतको गुजरातमा बनेको ट्याग र एमआरपीसहित बिक्री भइरहेको ‘अलपाइन हिमालयन रक साल्ट’ नेपालको रुपन्देहीमा प्याकिङ भएको उल्लेख गरिएको छ । सबै प्रकिया पुर्याएर बिक्री भइरहेकोले सिधै अवैध भन्न नमिल्ने विभागको भनाइ छ । स्पष्ट कानुन नभएकोले नुनको विषयमा विभागले अध्ययन गरेर उद्योग विभागमा नै पठाउने जनाएको छ ।