२८ असार २०८३, आइतबार

३४ वर्षपछि क्यारेबियन भूमिमा पाकिस्तानी क्रिकेट टोलीको बेहाल

साउन २८, २०८२
काठमाडौं
३४ वर्षपछि क्यारेबियन भूमिमा पाकिस्तानी क्रिकेट टोलीको बेहाल

तीन दशकपछि पाकिस्तानी क्रिकेट टोलीले क्यारेबियन भूमिमा नमिठो हारको सामना गर्नु परेको छ । घरेलु टोली वेस्ट इन्डिजले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय दुई रनको विशाल अन्तरले हराएको हो ।

जितसँगै वेस्ट इन्डिजले तीन खेलको एकदिवसीय शृंखला पनि २–१ ले आफ्नो पक्षमा पार्‍यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ९४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने २९.२ ओभरमै अलआउट हुनुअघि ९२ रनमात्र बनाउन सक्यो । पाकिस्तानका लागि सलमान अघाले सर्वाधिक ३० रन बनाए । मोहम्मद नवाजले अविजित २३ र हसन नवाजले १३ रन बनाए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । वेस्ट इन्डिजका बलर जेडन सिल्सले एक्लैले ६ विकेट लिए । उनले ७.२ ओभरमा केवल १८ रन खर्चिए ।

त्यसअघि, क्यारेबियन टोलीका लागि कप्तान साई होपले उत्कृष्ट शतकीय पाली खेलेका थिए । उनले अविजित एक सय २० रन बनाए । यस क्रममा उनले केवल ९४ बलको सामना गरी पाँच छक्का र १० चौका पनि हिर्काए ।

जस्टिन ग्रेभ्सले अविजित ४३ र रोस्टन चेजले ३६ रन बनाएका थिए । पाकिस्तानी टोलीका बलर नसिम शाह र अबरार अहमदले दुई–दुई विकेट लिए । वेस्ट इन्डिजका साई होप प्लेयर अफ दि म्याच र वेस्ट इन्डिजकै जेडन सिल्स प्लेयर अफ दि सिरिज घोषित भए ।

पाकिस्तानी टोलीले क्यारेबियन भूमिमा ३४ वर्षपछि एकदिवसीय शृंखला हारेको हो । यसअघि सन् १९९१–९२ मा आफ्नो घरेलु मैदानमा आयोजित एकदिवसीय शृंखलामा वेस्ट इन्डिजले पाकिस्तानलाई हराएको थियो ।

त्यसयता क्यारेबियन भूमिमा खेलिएको ११ वटा एकदिवसीय शृंखलामा पाकिस्तानले वेस्ट इन्डिजलाई हराएको थियो । शृंखलाको पहिलो खेलमा पाकिस्तान पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्