०८ असार २०८३, सोमबार
रुस-युक्रेन युद्ध

ट्रम्प-पुटिन वार्ताअघि जेलेन्स्कीको अडान : कब्जा गर्नेलाई एक टुक्रो जमिन छाड्दैनौं !

साउन २८, २०८२
काठमाडौं
ट्रम्प-पुटिन वार्ताअघि जेलेन्स्कीको अडान : कब्जा गर्नेलाई एक टुक्रो जमिन छाड्दैनौं !

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामको सर्तमा डोनबास क्षेत्र छाड्ने कुनै पनि रुसी प्रस्ताव अस्वीकार गर्ने स्पष्ट चेतावनी दिएका छन् । उनले यस्तो कदम भविष्यमा रुसका लागि नयाँ आक्रमणको आधार बन्न सक्ने बताउँदै आफ्नो देशको भू–भाग गुमाउन तयार नरहेको दृढता दोहोर्‍याएका हुन् ।

जेलेन्स्कीले यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुन लागेको उच्चस्तरीय भेटवार्ताअघि सार्वजनिक गरेका हुन् ।

ट्रम्पले कुनै पनि शान्ति सम्झौतामा 'भू-भागको आदान–प्रदान' हुने संकेत गरेका छन् । पुटिनका प्रमुख मागमध्ये एक कीभले अझै नियन्त्रणमा राखेको डोनबासको भू-भाग छाड्नु पनि रहेको बताइन्छ।

यसबीच, रुसी सेनाले समरको आक्रमण अभियान जारी राख्दै पूर्वी सहर दोब्रोपिलियानजिक अचानक प्रहार गरेको र छोटो अवधिमा करिब १० किलोमिटर अघि बढेको बताइएको छ । जेलेन्स्कीले यो प्रगति केही स्थानमा भएको स्वीकार गरे पनि आक्रमणमा संलग्न युनिटहरू छिट्टै नष्ट गर्ने विश्वास व्यक्त गरे ।

रुसको प्रगतिलाई न्यून आँक्दै उनले पुटिन र ट्रम्पको भेटअघि मस्कोले 'रुस अघि बढिरहेको छ, युक्रेन पछि परिरहेको छ' भन्ने सन्देश फैलाउने प्रयत्न गरिरहेको आरोप लगाए ।

डोनबास-लुहान्स्क र डोनेट्स्क क्षेत्र मिलेर बनेको भू–भाग सन् २०१४ देखि आंशिक रूपमा रुसको कब्जामा छ । अहिले लुहान्स्कको लगभग सम्पूर्ण भाग र डोनेट्स्कको करिब ७० प्रतिशत मस्कोको नियन्त्रणमा पुगेको छ । 

यद्यपि, जेलेन्स्कीले मंगलबार पुनः स्पष्ट पारेका छन्, 'यदि हामी आज डोनबासबाट फिर्ता भयौं भने हाम्रो किल्ला, भूभाग र नियन्त्रणमा रहेका उचाइहरूमा रुसलाई आक्रमणको तयारी गर्न खुला मार्ग मिल्नेछ ।'

उनले युक्रेनी जनताले 'आफ्नो भूमि कब्जा गर्नेहरूलाई उपहारस्वरूप नदिने' उल्लेख गर्दै संविधानअनुसार भू–भागको परिवर्तनका लागि जनमत संग्रह अनिवार्य हुने बताए । मंगलबार रातिको सम्बोधनमा उनले मस्कोले जापोरिझ्झिया, पोख्रोभ्स्क र नोभोपालोभ क्षेत्रमार्फत नयाँ आक्रमणको तयारी गरिरहेको दाबी गरे ।

गत हप्तै ट्रम्पले 'रुस र युक्रेन दुवैको हितका लागि केही भू–भाग आदान–प्रदान' हुन सक्ने बताएका थिए । यसले कीभ र युरोपभर चिन्ता पैदा गराएको छ । बल प्रयोगमार्फत मस्कोलाई युक्रेनको सिमाना फेरबदल गर्न अनुमति दिइने हो कि भन्ने आशंका समेत बढेको छ ।

रुसले अहिले युक्रेनको करिब २० प्रतिशत भू–भाग नियन्त्रणमा राखेको छ । ह्वाइट हाउसका अनुसार अलास्कामा हुने वार्ता ट्रम्पका लागि सुन्ने अवसर हुनेछ र पुटिनसँगको प्रत्यक्ष भेटवार्ताले युद्ध अन्त्यका उपायबारे स्पष्ट संकेत दिनेछ ।

जेलेन्स्की भने वार्ताबाट सकारात्मक नतिजा आउनेमा आशावादी देखिएका छैनन् । कीभलाई वार्ताबाट बाहिर राखिएको भन्दै उनले प्रश्न गरेका छन्, 'हामीविना उनीहरू के कुरा गर्नेछन् ?'

उनले वार्ताका लागि अलास्का रोजिनु पुटिनका लागि व्यक्तिगत विजय भएको टिप्पणी गर्दै अमेरिकी भूमिमा भेट हुनु रुसको अन्तर्राष्ट्रिय बहिष्करण तोड्ने प्रयास भएको बताए ।

जेलेन्स्कीले यसअघि नै कीभको सहभागिताविना हुने कुनै पनि सम्झौता 'मृत निर्णय' हुने चेतावनी दिएका थिए ।

बुधबार उनी ट्रम्प, युरोपेली संघका नेताहरू, बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर र नाटो प्रमुख मार्क रुट्टेसँगको भर्चुअल बैठकमा सहभागी हुने कार्यक्रम छ, जहाँ सबै पक्षले ट्रम्पलाई पुटिनको पक्षमा नझुक्न आग्रह गर्ने तयारी गरेका छन् ।

  • बीबीसीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्