
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने सबै नेपाली नागरिक बेचिएको भन्ने गलत भाष्य सृजना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
इमोसनल ब्ल्याकमेलिङमार्फत आफ्नो स्वार्थको रोटी सेक्न संसद्मा भिजिट भिसा प्रकरणलाई उचालिएको उनले बताए ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर प्रधानमन्त्री ओलीले आफैं भिजिट भिसामा विदेश गएर उताको नागरिकता लिने अनि नेपालबाट विदेश जानेलाई बेचिएको भाष्य सृजना गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।
‘कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्किएर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरू र भिजिट भिसामा गएर उतै दुई/दुई पटक बिहे गरेका व्यक्तिले समेत विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई बेचिएको भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्,’ ओलीले भने, ‘यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्यालकमेलिङमार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति उजागर गरेको छ ।’
रास्वपाले भिजिट भिसामार्फत मानव तस्करी भएको भन्दै त्यसको छानबिनको माग गर्दै संसद्मा २ महिनादेखि अवरोध गरिरहेको छ ।
ओलीले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्ने जबरजस्त भाष्य सृजना गरिएको बताए ।
‘लाखौं जनताले सहकारीमा जम्मा गरेको बचत हिनामिना गर्ने, अदालतले मुद्दा हेरिरहेको छ । विभिन्न व्यक्तिलाई अदालतले थुनामा पठाएको छ,’ ओलीले भने, ‘पुर्पक्षका लागि थुनामा पठाएका कुनै व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको छ ।’