
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)ले एनओसीको अर्को तदर्थ समिति गठन भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
एनओसीले बुधबार एक विज्ञप्ति जारी गर्दै तदर्थ समिति गठनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ‘एनओसीको तदर्थ समिति गठन गरिएको भनी जारी प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रही आवधिक रूपमा निर्वाचन हुँदै आएको जीवनराम श्रेष्ठ अध्यक्ष र राजीव श्रेष्ठ महासचिव रहनुभएको एकमात्र ओलम्पिक कमिटी नेपालको आधिकारिक ओलम्पिक कमिटी हो,’ विज्ञप्तिमा भनिएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), एसियाली ओलम्पिक कमिटी (ओसीए) र एसोसिएसन अफ नेशनल ओलम्पिक कमिटी (एएनओसी)को औपचारिक मान्यता पनि आफूहरूलाई मात्र रहेको दाबी एनओसीले गरेको छ ।
‘आईओसीको बडापत्र र राष्ट्रिय खेलकुद विकास ऐनले देशमा एउटा मात्र एनओसी रहन सक्ने व्यवस्था गरेको छ । एउटा एनओसी हुँदा हुँदै केही अनधिकृत व्यक्तिहरूको भेलाले तदर्थ समिति गठन गर्न सक्दैन । यसरी गठन गरिएको एनओसी आधिकारिक पनि हुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।
तदर्थ समितिले एनओसी, आईओसी र ओसीएको लोगो प्रयोग गरेकोमा पनि आपत्ति जनाइएको छ । ‘लेटर प्याडमा प्रयोग गरिएको ओलम्पिक रिङ र लोगो आईओसीको सम्पत्ति हो । यसको प्रयोग आईओसीबाट मान्यता प्राप्त एनओसीले मात्र गर्न पाउँछ । त्यसैले अनधिकृत रुपमा लेटर प्याड, ओलम्पिक रिङ र लोगो प्रयोग नगर्न सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।