२५ जेठ २०८३, सोमबार

संसद्‌बाट घोषणा गरेका रामहरिले सभामुखलाई बुझाए लिखित राजीनामा

साउन २८, २०८२
काठमाडौं
संसद्‌बाट घोषणा गरेका रामहरिले सभामुखलाई बुझाए लिखित राजीनामा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट लिखित रूपमै राजीनामा दिएका छन् ।​

मंगलबारको प्रतिनिधिसभा बैठकबाट राजीनामा घोषणा गरेका उनले बुधबार सभामुख देवराज घिमिरेलाई लिखित राजीनामा पत्र बुझाएका हुन् ।

‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु’, सभामुखलाई बुझाएको राजीनामा पत्रमा भनिएको छ । 

त्यसक्रममा सत्तारूढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला पनि पुगेका थिए । 

संघीय निजामती विधेयकबाट ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था गायब भएको विवादमा तानिएका खतिवडाले मंगलबार राजीनामा घोषणा गरेका थिए । 

‘कुलिङ पिरियड जसरी पनि राख्नुपर्छ भनेर अड्डी लिएको थिएँ । हिजो पनि थिएँ, आज पनि छु, भोलि पनि रहनेछु । त्रुटी हुन गएको साँचो हो । विधेयक लेखनमा त्रुटी भएको हो । तर, मबाट भएको होइन । मबाट यस्तो त्रुटी भएको होइन भन्ने विश्वास गराउन चाहन्छु’, उनले सम्बोधनका क्रममा भनेका थिए, ‘आशंकापूर्वक अध्ययन नगर्नु मेरो मात्रै कमजोरी हो कि संसद्को पनि हो ? हामी सांसद पनि अध्ययन गर्दैनौं भन्ने देखिएको छ । राजनीतिमा गरेको कामको जस नपाउने, नगरेको सजाय भोग्नुपर्नेरहेछ । म राजनीतिमा किसुजनीको अनुयायी हुँ, नखाएको विष लाग्दैन । पदलाई भन्दा प्रश्नलाई माथि राखेर हेर्छु । रामहरि दोषी हो भनेर प्रतिवेदनमा किटान गरिएको छैन । न राजीनामा दिनुपर्छ भनेर उल्लेख गरिएको छ । न प्रचलित कानून अनुसार कारबाही गर्नुपर्छ भनेर उल्लेख गरिएको छ । तर, छानबिन समितिको प्रतिवेदनमा जिम्मेवार शब्द प्रयोग गरिएकोले राज्य व्यवस्था समितिको सभापतिबाट हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्छु ।’

कुलिङ अफ पिरियड छेडखानी सम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सभापतिका रूपमा खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने भनेको थियो । 

खतिवडाले बुझाएको राजीनामा पत्र :

null

salt training

कमेन्ट गर्नुहोस्