
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपी कक्ष प्रयोगसम्बन्धी नियम पुनः स्पष्ट गरेको छ।
प्राधिकरणले बुधबार जारी गरेको सार्वजनिक सूचनामा नेपाल राजपत्र (२०७१ साउन ५) मा तोकिएअनुसारका पदाधिकारीलाई मात्र सम्बन्धित निकायको पत्रको आधारमा भिआईपी कक्ष प्रयोग अनुमति दिइने उल्लेख छ। अन्य कुनै निकायको लिखित वा मौखिक अनुरोधका आधारमा प्रवेश अनुमति दिन नसकिने पनि स्पष्ट गरिएको छ।
सूचनामा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेकाको मर्यादाक्रम औपचारिक कार्यक्रमका लागि मात्र हुने र सुरक्षा तथा अन्य सुविधा प्रचलित कानुनअनुसार हुने प्रावधान पुनः दोहोर्याइएको छ।