
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने कार्यक्रम सरकारले अघि सारेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार एक स्ट्याटस राख्दै ओलीले सरकारले कृषि आधुनिकीकरण परियोजना शुरू गरेको जानकारी दिएका हुन् । ‘निर्वाहमुखी कृषिलाई व्यावसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिको प्रयोगमार्फत आधुनिक बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अगाडि सारेको छ, कृषि वस्तुका विषयगत सुपर जोन, जोन र एकाइहरू बनाएर उत्पादन बढाउने लक्ष्य लिइएको छ’, उनले लेखेका छन् ।
कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत् बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रूपमा फलफूल तथा तरकारी खेती थालिएको पनि प्रधानमन्त्रीले जानकारी दिए ।
कृषि कर्मबाट नै रोजगारी सिर्जना हुने प्रधानमन्त्रीको विश्वास छ। ‘कृषिलाई परम्पराबाट आधुनिक व्यवसाय बनाएपछि यसले उत्पादन बढाउने मात्रै नभएर रोजगारी पनि सिर्जना गर्ने छ’, उनले लेखेका छन् ।