२६ जेठ २०८३, मंगलबार

रुपन्देही कारागारले भन्यो- रवि लामिछानेलाई छुट्टै कोठा, टेलिफोन र भेटघाट सुविधा निरन्तर

साउन २९, २०८२
काठमाडौं
रुपन्देही कारागारले भन्यो- रवि लामिछानेलाई छुट्टै कोठा, टेलिफोन र भेटघाट सुविधा निरन्तर

जिल्ला कारागार कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुरक्षा अवस्थालाई मध्यनजर गरी शुरूदेखि नै छुट्टै बन्दीगृह (अलग्गै एउटा कोठा)मा राखिएको जनाएको छ ।

कारागार कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी चार महिनादेखि सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनुवाको रूपमा रहेका लामिछानेलाई छुट्टै कोठामा राखिनुका साथै उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको जनाएको छ ।

‘कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ’, कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कारागार प्रशासनले बिरामी बन्दीहरूको स्थानीय अस्पताल र आवश्यकता अनुसार चिकित्सकको सिफारिसमा स्थानान्तरण समेत गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको जनाएको छ ।

‘सबै बन्दीबीच मेलमिलाप कायम गरी शान्ति सुरक्षा र मानव अधिकारमैत्री वातावरण सृजना गर्न यस कारागार कार्यालय प्रतिबद्ध रहेको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ, ‘कारागारभित्रका समाचार प्रकाशन गर्दा यस कार्यालयसँग आधिकारिक सूचना लिई सत्य तथ्य समाचार प्रकाशन गरिदिनु हुन कारागार कार्यालय सम्बन्धित सबैमा अनुरोध गर्दछ ।’

केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा रुपन्देही कारागारका विषयमा अनेक समाचार आएको भन्दै कार्यालयले  ध्यानाकर्षण भएको समेत जनाएको छ ।

कूल २५० जना बन्दी राख्ने क्षमता रहेको रुपन्देही कारागारमा हाल ६४० जना बन्दी रहेका छन् । क्षमताभन्दा तीन गुणा बढी बन्दी रहेको अवस्थामा पनि कार्यालयले कारागारमा उपलब्ध स्रोत साधनको अतिउत्तम परिचालन गरी कानून बमोजिमका सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको जनाएको छ ।

‘कारागारको भौतिक संरचना र क्षमता अनुसार बन्दीहरूलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा/पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरूलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराउँदै आएको छ’, विज्ञप्तिमा भनिएको छ । 

कारागार ऐन २०७९ तथा कारागार नियमावली बमोजिम अशक्त, अपाङ्ग, जेष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका व्यक्तिलाई थप सुविधा समेत उपलब्ध गराउने गरिएको छ । 

थप सुविधा उपलब्ध गराउने सम्बन्धमा कानून बमोजिमका सकारात्मक विभेद बाहेक बन्दीहरूका बिचमा अन्य विभेद नगरिएको कारागार प्रशासनले जनाएको छ । 

कारागार प्रशासनको तर्फबाट समय समयमा कारागारभित्रको वस्तुस्थिति अवलोकन गर्ने, बन्दीहरूको गुनासो सुन्ने र स्रोतसाधनले भ्याएसम्म त्यसको सम्बोधन गरिँदै आएको कारागार प्रशासक भण्डारीले जनाएका छन् । 

पढ्नुहोस् कारागार कार्यालयले जारी गरेको विज्ञप्ति :

null

salt training

कमेन्ट गर्नुहोस्