![यस्तो छ काठमाडौंकै सडकको हालत [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Shankhamul_Road_6_oPYeMWtxAX.jpg)
संघीय राजधानी काठमाडौंकै एउटा सडकको अवस्था महिनौँदेखि बेहाल छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को शंखमुलस्थित गणेशमार्ग सडक हिलाम्मे भएको लामो समय भयो । निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा स्थानीयहरूले दिनहुँ हिलाम्मे सडकमा यात्रा गर्नु परेको हो ।

सडकमा ८२ इन्चको ३८३ मिटर ढल राखिएको र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम गरिएको वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले जानकारी दिए ।
सडकमा ढल व्यवस्थापनको काम सकिए पनि निर्माण कम्पनीले बाँकी काम नगर्दा सडक हिलाम्मे भएपछि सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

२०८२ असोज मसान्तसम्म काम सक्नेगरी टुँडाल कन्स्ट्रक्सन एण्ड सपलायर्स प्रालिसँग एक करोड ७१ लाखमा निर्माण सम्झौता भएको थियो । तर, ढल निर्माणपश्चात कम्पनीले काम अगाडि बढाएको छैन ।

वडा र ठेकेदारको लापरवाहीका कारण ढल व्यवस्थापनको क्रममा खनिएको माटो सडकमै राख्नाले अहिले यो अवस्था आएको स्थानीय व्यापारी सरोज तिमल्सिनाले बताए ।





