
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली वास्तविक धरातल छाडेर हावादारी गफमा लागिरहेको आरोप लगाएका छन् ।
बिहीबार संसद् भवन बाहिर पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तै हावादारी गफले देश बर्बाद भएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले सदनमा दाबी गरेजस्तो सरकारले काम नगरेको प्रचण्डको भनाइ छ ।
‘गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्ने कुरा सबै जनतालाई थाहा छ । उहाँ (प्रधानमन्त्री ओली) धरातल छोडेर हावादारी गफमा जानुभएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ’, प्रचण्डले भने, ‘टीयू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठीक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ । त्यो बेठीक छ ।’
बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारले गरेका काम भन्दै लामो फेहरिस्त सुनाएका थिए । जसमा उनले प्रचण्डलाई लक्षित गरेर टीयू क्रिकेट मैदानमा भइरहेको काम हेर्न जान भनेका थिए ।