
भारतले आज आफ्नो ७९ औं स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक वर्ष अगस्ट १५ मा मनाइने स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा भारतको झण्डा फहराएका छन् । मोदीले स्वतन्त्रता दिवसमा लगातार १२ औंपटक लाल किल्लाको पर्खालबाट राष्ट्रलाई सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा मोदीले आफ्नै मेड इन इन्डिया लडाकु विमानहरूको लागि आफ्नै जेट इन्जिन हुनुपर्ने बताए । उनले अरूमा धेरै निर्भर हुँदा स्वतन्त्रताको प्रश्न आफैंमा धमिलो हुनेसमेत धारणा राखे । 'लाल किल्लाको पर्खालबाट म युवा वैज्ञानिक, प्रतिभाशाली युवा, इन्जिनियर, पेशेवरहरू र सरकारका सबै विभागहरूलाई आग्रह गर्दछु कि हामीसँग आफ्नै मेड इन इन्डिया लडाकु विमानहरूको लागि जेट इन्जिन हुनुपर्छ,' प्रधानमन्त्री मोदीले भने, 'विकसित भारतको आधार पनि आत्मनिर्भर भारत हो । यदि कोही अरूमा धेरै निर्भर हुन्छ भने, स्वतन्त्रताको प्रश्न आफैंमा धमिलो हुन थाल्छ । आत्मनिर्भरता केवल आयात, निर्यात, रुपैयाँ, पाउन्ड वा डलरमा मात्र सीमित छैन । यसको अर्थ धेरै फराकिलो छ। आत्मनिर्भरता हाम्रो शक्तिसँग प्रत्यक्ष रूपमा जोडिएको छ।'
प्रधानमन्त्री नरेन्द्र लाल किल्लाको पर्खालबाट अपरेशन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको समेत बताए । भारतका बहादुर सिपाहीहरूले शत्रुहरूलाई उनीहरूको कल्पनाभन्दा बाहिरको दण्ड दिएको मोदीले बताए । 'भारतले निर्णय गरेको छ कि हामी अब आणविक खतराहरू सहन सक्दैनौं । हामी अब ब्ल्याकमेलिङ सहन सक्दैनौं,' उनले भने, 'हाम्रा बहादुर सैनिकहरूले शत्रुहरूलाई उनीहरूको कल्पनाभन्दा बाहिरको सजाय दिए । पूरा भारत क्रोधले भरिएको छ। यस प्रकारको नरसंहारबाट सम्पूर्ण विश्व स्तब्ध भएको छ। अपरेशन सिन्दूर त्यही क्रोधको अभिव्यक्ति हो । भारतले रगत र पानी एकसाथ बग्ने छैन भन्ने निर्णय गरेको छ । भारतीय नदीहरूको पानीले शत्रुहरूको खेत सिँचाइ गरिरहेको छ। भारतले आफ्नो भागको पानी पाउनेछ।'
उनले सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण रहेको बताए । यो सम्झौता राष्ट्रिय हितमा स्वीकार्य नभएको उनको भनाइ थियो ।
मोदीले दीपावलीमा देशवासीहरूले ठूलो उपहार पाउने बताए ।
त्यसअघि उनले लाल किल्लाअगाडि राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।