
काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ७९ औं स्वतन्त्रता दिवस मनाइएको छ ।
नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको उपस्थितिमा शुक्रबार ७९ औं स्वतन्त्रता दिवस मनाइएको भारतीय दूतावासले जनाएको छ ।
कार्यक्रमको शुरूआत नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय झण्डा फहराएर गरेका थिए ।
त्यसपछि भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो । जसमा उनले विगत ७८ वर्षमा भारतले गरेको उल्लेखनीय प्रगतिबारे चर्चा गरेकी थिइन् ।
सो अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गर्दै कुल ६.४ करोड भारतीय रुपैयाँको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेक हस्तान्तरण गरे।

साथै, नेपालका सातै प्रदेश र २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था तथा पुस्तकालयका लागि पुस्तक अनुदानको घोषणा दूतावासले गरेको छ ।
कार्यक्रममा दूतावासका अधिकारी, उनीहरूको परिवार, भारतीय समुदाय र भारतका मित्रहरूले सहभागिता थियो ।
दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत र सांस्कृतिक नृत्य प्रस्तुति गरेका थिए ।








