०८ साउन २०८३, शुक्रबार

बाँकेमा गोली हानेर प्रहरीले समात्यो लागुऔषध कारोबारी

साउन ३०, २०८२
काठमाडौं
बाँकेमा गोली हानेर प्रहरीले समात्यो लागुऔषध कारोबारी

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिक कुमार रहेका छन् ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले सुरुमा बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका–४ मा रहेको बसपार्क पछाडि अमन अन्सारी र भाइजन अन्सारीलाई पक्राउ गरेको थियो । उनीहरूबाट प्रहरीले क्रमशः ४७.७१० ग्राम र १८.५०० ग्राम खैरो हेरोइन बरामद गरेको थियो ।

उनीहरूले भारतीय नागरिक अजय कुमार र कात्तिक कुमारले उक्त लागुऔषध दिएको बताएपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि इँटा प्रहार गरेका थिए ।

इँटा प्रहार गर्दै उनीहरू भागेपछि प्रहरीले शुरूमा एक राउण्ड गोली फायर गरेको थियो। उक्त गोली कात्तिकको दायाँ खुट्टामा लागेको थियो ।

एनसीबीका प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार यो गिरोह नेपालगञ्जमा लागुऔषध ओसारपसारमा सक्रिय भूमिकामा थियो । सोही सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने क्रममा प्रहरीमाथि नै इँटा प्रहार गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । इँटा प्रहारबाट एक जना प्रहरी घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर कार्त्तिककुमार घाइते भएका छन् ।

उनको दायाँ खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्