
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको वार्तामा युक्रेनको 'भूभाग साटफेर'को विषयमा छलफल गरिने तर यससम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार पूर्ण रूपमा युक्रेनसँगै रहने स्पष्ट पारेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर सम्मेलनमा जाँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै उनले आफू युक्रेनको तर्फबाट वार्ता गर्न नआएको तर उनीहरूले 'सही निर्णय' लिनेमा आफू विश्वस्त रहेको बताए ।
एक पत्रकारले भूभाग साटफेरको विषय वार्ताको एजेन्डा हो कि भनेर सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, 'यसबारे छलफल गरिनेछ, तर मैले यो निर्णय युक्रेनलाई नै गर्न दिनुपर्छ र मलाई लाग्छ उनीहरूले एक उचित निर्णय गर्नेछन् ।'
राष्ट्रपति ट्रम्पले आफ्नो भूमिका स्पष्ट पार्दै भने, 'म यहाँ युक्रेनको लागि वार्ता गर्न आएको होइन ।'
उनले युक्रेनले आफ्नो भविष्यबारे आफैं निर्णय लिनुपर्नेमा जोड दिए । साथै, उनले आफ्नो राष्ट्रपतिको कार्यकालको महत्त्व दर्शाउँदै यदि आफू राष्ट्रपति नभएको भए पुटिनले पूरै युक्रेन कब्जा गरिसक्ने दाबी गरे । उनले भने, 'तर उनले त्यसो गर्ने छैनन् ।'
पत्रकारहरूले युक्रेनलाई अमेरिकाले सुरक्षा ग्यारेन्टी प्रदान गर्ने सम्भावनाबारे सोधेको प्रश्नमा ट्रम्पले यसको ढोका खुला रहेको संकेत गरे ।
उनले भने, 'युरोप र अन्य देशहरूसँग मिलेर यस्तो ग्यारेन्टी दिने सम्भावना छ ।' तर, उनले यस्तो कुनै पनि सुरक्षा व्यवस्था नेटोको संरचनाभित्र नहुने कुरामा जोड दिए । ट्रम्पले शान्ति प्रक्रियामा प्रगति भए मात्र आर्थिक विषयमा छलफल हुने बताए ।