
कृषि विकास बैंक लिमिटेड रुकुम पूर्वका बैंक प्रबन्धक शिवशंकर गिरी मृत भेटिएका छन् ।
उनी निवासमा सुतेकै अवस्थामा शनिबार दिउँसो मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख, डीएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
मृत गिरीको ठेगाना सल्यान जिल्लाको बागचौर नगरपालिका-८ कोटमौला रहेको बुझिएको छ ।
दिउँसो करिब २ बजेर ५० मिनेटतिर छिमेकीहरूले बोलाउँदा गिरी नबोलेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ डीएसपीको कमान्डमा १२ जनाको प्रहरी टोली खटिएको थियो ।
प्रहरी पुग्दा उनी नबोल्ने अचेत अवस्थामा फेला परेपछि प्रहरीले चिकित्सकको टोलीलाई खबर गरेको थियो ।
चिकित्सकको टोली आई चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् । मृतक गिरीका आफन्तलाई घटनाबारे खबर भइसकेको प्रहरीले जनाएको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी यादवले बताए ।