०७ साउन २०८३, बिहीबार
बालोन डी’ओरको मनोनयन सूची

प्रतिष्ठित बालोन डी’ओर अवार्डको मनोनयनमै नअटाएका यी चर्चित अनुहार

साउन ३१, २०८२
काठमाडौं
प्रतिष्ठित बालोन डी’ओर अवार्डको मनोनयनमै नअटाएका यी चर्चित अनुहार

बालोन डी’ओर अवार्ड–२०२५ का लागि पुरुष तथा महिला खेलाडीहरूको मनोनयन सार्वजनिक भइसकेको छ । फ्रान्सेली फुटबलले गत साता अवार्डको ६९औं संस्करणका लागि पुरुष र महिलातर्फ ३०–३० जना खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।

सन् १९५६ देखि यो प्रतिष्ठित अवार्ड प्रदान गर्न थालिएको हो । समकालीन विश्व फुटबलका दुई महान खेलाडी अर्जेन्टिनी स्टार लियोनल मेसी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो दुवै यसपटक बालोन डी’ओर अवार्डको मनोनयनमा परेका छैनन् ।

पछिल्लो समय बालोन डी’ओर अवार्डमा लामो समयदेखि यी दुई खेलाडीले आफ्नो दबदबा कायम गर्दै आएका थिए । मेसी सर्वाधिक आठ र रोनाल्डो पाँचपटकका विजेता हुन् । तर, यसपटक यी दुवै खेलाडी प्रारम्भिक चरणकै मनोनयनमा पर्न असफल भए ।

रोनाल्डोले त मनोनयनमा परेका खेलाडीको सूचीमा आफ्नो नाम नदेखेपछि यसलाई ‘काल्पनिक’ भनेर सार्वजनिक टिप्पणीसमेत गरेका छन् । रोनाल्डो र मेसीका अतिरिक्त अन्य केही प्रभावशाली खेलाडी पनि यो सूचीमा पर्न सकेनन् ।

केही चर्चित खेलाडी विभिन्न कारणले मनोनयनमा नपरेपछि अन्तर्राष्ट्रिय समाचारमा पनि यसले चर्चा पाएको छ । एक वर्षको अवधिमा गतिलो प्रदर्शन गरेर पनि बालोन डी’ओर अवार्डको सूचीमा नपरेका केही खेलाडीका बारेमा यहाँ चर्चा गरिएको छ :

रोड्री

स्पेनिस खेलाडी रोड्री हाल इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्छन् । उनी प्रभावशाली डिफेन्सिभ मिडफिल्डर हुन् । रोड्री अघिल्लो सिजनको बालोन डी’ओर विजेता पनि हुन् ।

अघिल्लो सिजन धेरैले रियल म्याड्रिडका ब्राजिलियन खेलाडी भिनिसियस जुनियरले अवार्ड जित्ने अनुमान गरेका थिए । तर, अन्तिम समयमा आएर रोड्रीले बाजी मारेका थिए । यसपटक भने घाइते समस्याका कारण उनी मनोनयनको सूचीमा समेत पर्न सकेनन् ।

null

२९ वर्षीय रोड्री गत सेप्टेम्बरमा घुँडाको चोटबाट प्रभावित भएका थिए । त्यसैले उनले सन् २०२४-२५ सिजनको केही महत्त्वपूर्ण खेल गुमाउनु परेको थियो । तर, सिजनको अन्त्यतिर क्लब विश्वकप फुटबलमा भने उनी टोलीमा फर्किएका थिए ।

तर, क्लब विश्वकपमा उनले गोल गर्न सकेनन् । उनको क्लब म्यानचेस्टर सिटी पनि प्रतियोगिताको प्रि–क्वार्टरफाइनल चरणबाटै बाहिरिएको थियो ।

बुकायो साका

इङ्ल्यान्डका प्रभावशाली खेलाडी बुकायो साका हाल प्रिमियर लिग क्लब आर्सनलबाट व्यावसायिक फुटबल खेल्छन् । २३ वर्षीय साका टोलीका विंगर हुन् । यसपटक साका बालोन डी’ओरको मनोनयनमा पर्न सकेनन् ।

अघिल्लो सिजन उनी २१औं स्थानमा रहेका थिए । उनले सन् २०२४–२५ सिजनमा गतिलो प्रदर्शन पनि गरेका थिए । तर, घाइते समस्याका कारण उनी लामो समय मैदानबाट बाहिरिनु पर्‍यो । क्रिसमसअघि ह्यामस्ट्रिङ समस्याका कारण उनी करिब तीन महिना मैदान बाहिर थिए ।

null

उनी अप्रिलमा मैदानमा फर्किएका थिए । तर, उनले गतिलो प्रदर्शन भने गर्न सकेका थिएनन् । त्यसैले उनी यसपटक बालोन डी’ओरको मनोनयनमा पर्न असफल भए ।

जमाल मुसियाला

जर्मनीको राष्ट्रिय टोलीका क्षमतावान खेलाडी हुन्, जामल मुसियाला । उनी हाल जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेल्छन् । २२ वर्षीय मुसियाला टोलीका प्रभावशाली अट्याकिङ मिडफिल्डर हुन् ।

उनी पनि यसपटक बालोन डी’ओर अवार्डका लागि मनोनयनमा पर्न सकेनन् । उनी पनि घाइते समस्याका कारण लामो समय मैदानबाट बाहिर रहनु परेको थियो । उनको खुट्टामा समस्या देखिएको थियो । घाइते समस्याकै कारण उनले बुन्डेस लिगाको २५ खेलमात्र खेल्न सकेका थिए । 

null

समग्रमा मुसियालाका लागि यो सिजन गतिलो रहेन । यसअघि उनी सन् २०२३ मा बालोन डी’ओरको मनोनयनमा परेका थिए । त्यतिबेला उनले बुन्डेसलिगामा २५ गोल गरेर आफूलाई अब्बल सावित गरेका थिए ।​

अलेस्यान्ड्रो बास्टोनी

इटालियन क्लब इन्टर मिलान यसपटक च्याम्पियन्स लिगको फाइनलसम्म पुग्यो । इन्टरलाई फाइनलसम्म पुर्‍याउने सारथीमध्ये अलेस्यान्ड्रो बास्टोनी पनि एक हुन् । इन्टरका लाउटारो मार्टिनेज र डेन्जेल डम्फ्राइजले बालोन डी’ओरको मनोनयनमा स्थान बनाउँदा बास्टोनीको नाम भने पर्न सकेन ।

समर्थकहरूका लागि यो आश्चर्यको विषय थियो । इटालीको राष्ट्रिय टोलीको डिफेन्टरसमेत रहेका बास्टोनीको प्रदर्शन पनि यो अवधिमा उत्कृष्ट थियो । त्यसैले पनि मनोनयनमा उनको नाम नदेख्दा धेरै समर्थक आश्चर्यमा पर्नु स्वाभाविक थियो ।

त्यसैले बालोन डी’ओर अवार्ड सधैं स्ट्राइकर, मिडफिल्डरलगायतका गोलकर्ताहरूको पकडमा रहेको आरोप पनि लाग्ने गरेको छ । फाबियो कानाभारो र फ्रान्ज बेकेनबाउरमात्र यस्ता डिफेन्डर हुन् जसले हालसम्म यो अवार्ड जित्न सकेको छ ।

बास्टोनीले यसपटक बालोन डी’ओर अवार्ड त जित्ने थिएनन् तर, मनोनयनका लागि भने उनी बलियो दाबेदार थिए । यसपटक बालोन डी’ओर मनोनयमा परेका खेलाडीमध्ये भर्जिल भान जिक एकमात्र सेन्टर ब्याक हुन् ।

अलेक्जेन्डर इसाक

स्विडनको राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर अलेक्जेन्डर इसाक हाल इङ्लिस क्ल्ब न्युक्यासल युनाइटेडबाट व्यावसायिक फुटबल खेल्छन् । उनले क्लब छाड्ने समाचार सार्वजनिक भए पनि उनी हालसम्म न्युक्यासलमै छन् । अघिल्लो सिजन इसाकको प्रदर्शन लोभलाग्दो थियो ।

उनी अघिल्लो सिजन युरोपकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने स्ट्राइकरमध्ये एक थिए । उनले इङ्लिस प्रिमियर लिगमा मात्र क्लबका लागि २३ गोल गरेका थिए । तर, उनी पनि बालोन डी’ओर अवार्डको मनोनयनमा पर्न सकेनन् । यसको मुख्य कारण हो, उनको क्लबले यो अवधिमा युरोपको ठूलो प्रतियोगिता खेल्ने अवसर नपाउनु ।

जुलियन अल्भारेज

अर्जेन्टिनी राष्ट्रिय टोलीका चर्चित खेलाडी हुन्, जुलियन अल्भारेज । अग्रपंक्तिका यी प्रभावशाली खेलाडी हाल स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन् । उनी अघिल्लो वर्ष म्यानचेस्टर सिटीबाट एट्लेटिको पुगेका थिए ।

२५ वर्षीय जुलियन अल्भारेजले अघिल्लो सिजन विभिन्न प्रतियोगितामा गतिलो प्रदर्शन गरेका थिए । उनले छोटो समयमै आफ्नो लोभलाग्दो प्रदर्शनबाट एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनको मन जित्न सफल भएका थिए ।

आफ्नो ‘डेब्यू’ सिजनमै उनले एट्लेटिको म्याड्रिडका लागि १७ गोल गरेका थिए । क्लबलाई च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनल चरणसम्म पुर्‍याउन पनि उनको भूमिका महत्त्वपूर्ण थियो । 

च्याम्पियन्स लिगमा सात गोल गरेका थिए । तर, एट्लेटिको म्याड्रिडले महत्त्वपूर्ण प्रतियोगिताको उपाधि जित्न नसक्दा त्यसको प्रभाव अल्भारेजलाई पनि परेको थियो । त्यसैले उनी मनोनयनमा पर्न सकेनन् ।​

लियोनल मेसी

अर्जेन्टिनी स्टार लियोनल मेसी सबैभन्दा बढी पटक बालोन डी’ओर अवार्ड जित्ने खेलाडी हुन् । उनले हालसम्म आठपटक यो अवार्ड जितिसकेका छन् । तर, यसपटक उनी प्रारम्भिक चरणकै मनोनयनमा पर्न सकेनन् ।

पछिल्लो समय उनी अमेरिकी क्लब इन्टर मियामीबाट मेजर लिग सकर खेल्छन् । अहिले उनी युरोपेली क्लबमा छैनन् तर, उनले केही समयअघि सम्पन्न क्लब विश्वकपमा भने उत्कृष्ट प्रदर्शन गेरर आफ्नो जादु कायमै रहेको संकेत दिएका थिए ।

null

क्रिस्टियानो रोनाल्डो

मेसीजस्तै विश्व फुटबलका सर्वकालीन महान खेलाडीमध्ये एक हुन्, क्रिस्टियानो रोनाल्डो । रोनाल्डोले पनि हालसम्म पाँचपटक बालोन डी’ओरको उपाधि जितिसकेका छन् । तर, यी पोर्चुगिज स्टार पनि यसपटक अवार्डका लागि मनोनयनमा पर्न सकेनन् ।

रोनाल्डो हाल साउदी अरेबियाको व्यावसायिक लिग खेल्छन् । उनी सन् २०२३ मा साउदी क्लब अल–नासरमा आबद्ध भएका हुन् । क्लबका उनको प्रदर्शन अब्बल पनि छ । तर, उनलाई बालोन डी’ओर अवार्डको मनोनयन सूचीमा पार्न यो उपलब्धि मात्र पर्याप्त भएन ।

null

मनोनयनमा परेका पुरुष खेलाडी

यसपटक सम्भावित विजेताका रूपमा पुरुषतर्फ ३० जना खेलाडीको नाम सार्वजनिक गरिएको छ । मनोनयनमा पर्ने खेलाडीहरूमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का उस्मान डेम्बेल र जियानलुइगी डोनारुमा छन् । डेम्बेल फ्रान्स र डोनारुमा इटालीका खेलाडी हुन् ।

यसैगरी, स्पेनिस क्लब रियल म्याड्रिडका जुड बेलिङ्घम, पीएसजीका डेसिर डुए, इन्टरनाजियोनलका डेन्जेल गम्फ्राइज र जर्मन क्लब बोरुसिया डर्टमन्डका सेरहो गइरासी पनि मनोनयनमा परेका छन् । बेलिङ्घम इङ्ल्यान्ड, डुए फ्रान्स, डेन्जेल नेदरल्यान्ड्स र गुइरासी गिनीका खेलाडी हुन् ।

यसैगरी, इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड र आर्सनलका भिक्टर ग्योकेरस पनि मनोनयनमा परेका छन् । हाल्यान्ड नर्वे र भिक्टर स्विडेनका खेलाडी हुन् । पीएसजीका अच्राफ हाकिमी पनि मनोनयनमा परेका छन् । उनी मोरक्कोका खेलाडी हुन् ।

यसैगरी, जर्मन क्लब बायर्न म्युनिखका ह्यारी केन, पीएसजीका ख्विचा क्वारात्स्खेलिया, स्पेनिस क्लब बार्सिलोनाका रोबर्ट लेवान्डोवस्की र इङ्लिस क्लब लिभरपुलका एलेक्सिस म्याक एलिस्टर पनि सूचीमा छन् । केन इङ्ल्यान्ड, ख्विचा जर्जिया, लेवान्डोवस्की पोल्यान्ड र एलेक्सिस अर्जेन्टिनाका खेलाडी हुन् ।

इन्टरनाजियोनलका लाउटारो मार्टिनेज, इटालियन क्लब नापोलीका स्कट म्याकटोमिन, रियल म्याड्रिडका केलियन एमबाप्पे, पीएसजीका नुनो मेन्डिस, पीएसजीकै जोआओ नेभस पनि सूचीमा छन् । मार्टिनेज अर्जेन्टिना, स्कट स्कटल्यान्ड, एमबाप्पे फ्रान्स, मेन्डिस पोर्चुगल र नेभस पनि पोर्चुगलका खेलाडी हुन् ।

बार्सिलोनाका पेड्री, चेल्सीका कोल पाल्मर, बायर्न म्युनिखका माइकल ओलिस, बार्सिलोनाका राफिन्हा, आर्सनलका डेक्लान राइस र पीएसजीका फाबियन रुइज पनि मनोनयनमा परेका छन् । पेड्र स्पेन, पाल्मर इङ्ल्यान्ड, ओलिस फ्रान्स, राफिन्हा ब्राजिल, राइस इङ्ल्यान्ड र रुइज स्पेनका खेलाडी हुन् ।

यसैगरी, बार्सिलोनाका लामिन यामल, लिभरपुलका फ्लोरियन विर्टज, पीएसजीका भिटिन्हा, रियल म्याड्रिडका भिनिसियस जुनियर, लिभरपुलका भर्जिल भान जिक र लिभरपुलकै मोहम्मद सलाह पनि सूचीमा परेका छन् । यामल स्पेन, फ्लोरियन स्पेन, भिटिन्हा पोर्चुगल, भिनिसियस ब्राजिल, भान जिक नेदरल्यान्ड्स र सलाह इजिप्टका खेलाडी हुन् ।

मनोनयनमा परेका महिला खेलाडी

महिलातर्फ पनि ३० जना खेलाडीको सूची सार्वजनिक गरिएको छ । महिलातर्फ चेल्सीकी लुसी ब्रोन्ज (इङ्ल्यान्ड), ओलान्डो प्राइडकी बार्बरा बान्डा (जाम्बिया), बार्सिलोनाकी ऐटाना बोनमाटी (स्पेन), चेल्सीकी स्यान्डी बाल्टिमोर (फ्रान्स), आर्सनलकी मारियोना काल्डेन्ट (स्पेन), बायर्न म्युनिखकी क्लारा बुहल (जर्मनी) र वाशिङ्टन स्पिरिटकी सोफिया क्यान्टोर (इटाली) रहेका छन् ।

आर्सनलकी स्टेफ क्याटली (अस्ट्रेलिया), ओएल लियोन्सकी मेल्ची डेल डुमोर्ने (हाइटी), कान्सास सिटी करेन्टकी टेम्वा चाविङ्ग (मलावी), आर्सनलकी एमिली फक्स (अमेरिका), युभेन्ट्सकी क्रिस्टियाना गिरेली (इटाली), गोथम एफसीकी एस्थर गोन्जालेज (स्पेन), बार्सिलोनाकी क्यारोलिन ग्राहम हान्सन (नर्वे), बार्सिलोनाकी पाट्री गुइजारो (स्पेन) र पाल्मेरसकी अमान्डा टुटियर्स (ब्राजिल) पनि सूचीमा छन् ।

यसैगरी, चेल्सीकी हाना ह्याम्पटन (इङ्ल्यान्ड), बायर्न म्युनिखकी पर्निल हार्डर (डेनमार्क), ओएल लियोन्सकी लिन्ड्से हिप्स (अमेरिका), आर्सनलकी क्लो केली (इङ्ल्यान्ड), ओर्लान्डो प्राइडकी मार्टा (ब्राजिल), आर्सनलकी फ्रिडा लियोनहार्डसन (नर्वे) र बार्सिलोनाकी इवा पाजोर (पोल्यान्ड) छन् ।

यसैगरी, पेरिस एफसीकी क्लारा माटेओ (फ्रान्स), आर्सनलकी एलेसिया रुसो (इङ्ल्यान्ड), बार्सिलोनाकी क्लाउडिया पिना (स्पेन), बार्सिलोनाकी एलेक्सिया पुटेलस (स्पेन), चेल्सीकी जोहाना राइटिङ कानेरिड (स्विडेन), रियल म्याड्रिडकी क्यारोलिन वेयर (स्कटल्यान्ड र आर्सनलकी लिया विलियम्सन (इङ्ल्यान्ड) पनि मनोनयनमा परेका छन् ।

जसले एकभन्दा बढी पटक जिते

बालोन डी’ओर अवार्ड स्थापना भएको ६९ वर्ष पुगिसकेको छ । सन् १९५६ यो यो अवार्डको स्थापना भएको थियो । सन् १९५६ मा पहिलो पटक यो अवार्ड जित्ने खेलाडी स्टेनली म्याथ्यूज हुन् ।

इङ्ल्यान्डका खेलाडी म्याथ्यूज त्यतिबेला ब्लयाकपुलबाट खेल्थे । पहिलो संस्करणमा त्यतिबेला रियल म्याड्रिडका अल्फ्रेडो डी स्टिफानो र सोही क्लबका रेमोन्ड कोपा तेस्रो भएका थिए ।

सबैभन्दा बढीपटक यो अवार्ड जित्ने खेलाडी अर्जेन्टिनाका लियोनल मेसी हुन् । मेसीले हालसम्म आठपटक यो अवार्ड जितिसकेका छन् । उनले सन् २००९ देखि सन् २०१२ सम्म लगातार यो अवार्ड हात पारेका थिए ।

स्पेनिस क्लब बार्सिलोनाका पूर्वखेलाडी मेसीले त्यसपछि सन् २०१५, सन् २०१९, सन् २०२१ र सन् २०२३ मा बालोन डी’ओर अवार्ड जितेका थिए । पछिल्लो पटक यो अवार्ड जित्दा मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्थे । मेसी पाँचपटक दोस्रो र एकपटक तेस्रो भएका थिए ।

यसैगरी, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले हालसम्म पाँचपटक यो अवार्ड जितेका छन् । रियल म्याड्रिडका पूर्वखेलाडी रोनाल्डोले सन् २००८ मा यो अवार्ड जितेका थिए । त्यसपछि उनले सन् २०१३, सन् २०१४, सन् २०१६ र सन् २०१७ मा अवार्ड चुमेका थिए । उनी हालसम्म ६ पटक दोस्रो र एकपटक तेस्रो भएका थिए ।

यसैगरी, फ्रान्सका मिचेल प्लाटिनी, नेदरल्यान्ड्सका जोहान क्रुफ र नेदरल्यान्ड्सकै मार्को भान बास्टेनले तीन–तीनपटक बालोन डी’ओर अवार्ड जितेका छन् । पाँचजना खेलाडीले यो अवार्ड दुई–दुई पटक जितेका छन् ।

दुईपटक यो अवार्ड जित्ने खेलाडी जर्मनीका फ्रान्ज बेकेनबाउर, ब्राजिलका रोनाल्डो, स्पेनका अल्फ्रेडो डी स्टेफानो, इङ्ल्यान्डका केभिन किगन र जर्मनीका कार्ल–हेइन्ज रुमेनिगेले हुन् । सबैभन्दा पछिल्लो पटक सन् २०२४ मा यो अवार्ड जित्ने खेलाडी स्पेनका रोड्री हुन् ।

salt training

कमेन्ट गर्नुहोस्