
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन् । वार्तामा रुस र युक्रेनबीच युद्धविरामबारे छलफल भएको थियो तर, कुनै सहमति भने नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
वार्तापछि अहिले नै युद्धविराम सम्भव नभएको ट्रम्पले प्रतिक्रिया दिएको सीएनएनले जनाएको छ । यद्यपि, बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल भएको थियो । अमेरिका र युरोपेली देशहरूले युक्रेनको सुरक्षामा मिलेर काम गर्ने सहमति भएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँगको भेटवार्ताकै क्रममा ट्रम्पले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग ४० मिनेट फोनमा कुरा गरेका थिए । यस क्रममा पुटिनले रुस र युक्रेनका प्रतिनिधिहरूबीचको प्रत्यक्ष वार्तालाई समर्थन गरेको बीबीसीले जनाएको छ ।
जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जलाई उद्धृत गर्दै बीबीसीको समाचारमा उल्लेख भएअनुसार पुटिन १५ दिनभित्र जेलेन्स्कीलाई भेट्न सहमत भएका छन् । जेलेन्स्की पनि पुटिनसँग भेटघाट गर्न तयार छन् । तर, दुई नेताहरूको यो भेटघाट कहाँ हुने भन्ने कुरा अहिले तय भएको छैन।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसले युक्रेनसँग द्विपक्षीय बैठक र त्यसपछि त्रिपक्षीय बैठकको प्रस्ताव राखेको बताएका छन् । ट्रम्पसँगको भेटपछि पत्रकार सम्मेलनमा जेलेन्स्कीले आफू पुटिनसँग कुनै पनि प्रकारको बैठकको लागि तयार रहेको बताए ।
तर, बैठक सर्तरहित हुनुपर्ने उनको भनाइ थियो । 'म पक्का छु कि हामी भेट्नुपर्छ र युद्ध अन्त्य गर्ने बाटोमा अगाडि बढ्नु पर्छ,' उनले भने ।
ट्रम्पले भेटघाट धेरै सफल रहेको बताएका छन् । बैठकमा युक्रेनको सुरक्षाको ग्यारेन्टीबारे छलफल भएको आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेखेका छन् । जसमा युरोपेली देशहरूले मुख्य भूमिका खेल्नेछन् र अमेरिकाले उनीहरूलाई समर्थन गर्नेछ ।
जेलेन्स्की र पुटिनबीचको भेटघाटको तयारी शुरू भएको ट्रम्पले बताएका छन् । भेटघाट कहाँ हुने भनेर पछि निर्णय गरिनेछ। त्यसपछि ट्रम्प, पुटिन र जेलेन्स्कीबीच त्रिपक्षीय बैठक हुने छ । 'यो लगभग चार वर्षदेखि चलिरहेको युद्ध रोक्न एक राम्रो प्रारम्भिक कदम हो,' उनले लेखेका छन् ।