
नेपालमा मनसुन केही कमजोर रहेपनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षाको सम्भावना अझै कायम रहेको छ।
मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानमा तथा मधेश प्रदेशको तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत छ।
यसैगरी आज राति कोशी र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशको पहाड तथा तराई र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। साथै, कोशी प्रदेशका पहाड तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ।
मौसम विश्लेषणअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ। त्यसैले नेपालमा मनसुन केही कमजोर भए पनि वर्षा सम्भावना यथावत रहेको विभागको भनाइ छ ।