३२ असार २०८३, बिहीबार
विपक्षी दलको बैठक

सत्तारूढ दलले उपसभामुखमाथि महाभियोग प्रस्ताव ल्याए सशक्त प्रतिवाद गर्ने विपक्षीको निर्णय

भदौ ३, २०८२
काठमाडौं
सत्तारूढ दलले उपसभामुखमाथि महाभियोग प्रस्ताव ल्याए सशक्त प्रतिवाद गर्ने विपक्षीको निर्णय

सत्तारूढ दलले उपसभामुख इन्दिरा राना मगरमाथि महाभियोग प्रस्ताव अघि बढाए त्यसको सशक्त प्रतिवाद गर्ने विपक्षी दलहरूले निर्णय गरेका छन् ।

प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

उपसभामुख रानामाथि महाभियोग ल्याउने भन्दै सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको हस्ताक्षर अभियान चलाएपछि विपक्षी दलको बैठक बसेको हो । 

बैठकले यस्तो प्रस्ताव र प्रयत्नको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको विपक्षी दलका नेताहरूले बताएका छन् । 

नेकपा एकीकृत समाजवादीका संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले संवैधानिक परिषद्‌मा सत्तापक्षको बहुमत नपुगेपछि उपसभामुखलाई हटाउने षडयन्त्र गरिएको उनले बताए । 

‘इन्दिरा राना मगरलाई हटाएर उनको ठाउँमा नेपाली कांग्रेसको कुनै मान्छेलाई ल्याउन पाइयो भने आफ्नो बहुमत बनाउन (संवैधानिक परिषद्‌मा) सकिन्छ भन्ने एउटा अत्यन्त तल्लो, छुद्र स्वार्थका लागि गरिएको काम हो यो । यो काम कुनै हालतमा सम्भव हुन दिनु हुँदैन भन्ने निर्णय हामीले गर्‍यौं’, पाण्डेले भने । 

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तारूढ दलले गरेका गतिविधिका विरुद्ध साझा धारणा बनाउन बैठक बसिएको बताए । उनले कांग्रेस-एमालेको कदम राष्ट्रका लागि, लोकतन्त्रका लागि राम्रो छैन भन्ने निष्कर्ष बैठकले निकालेको बताए । 

‘प्रतिपक्ष दलको बैठक बोलाएर सबैको साझा धारणा बनाएर अघि बढ्ने काम भएको छ । यसको (सत्तारूढ दलको हस्ताक्षर अभियान)विरोध गर्नुपर्छ भन्ने छलफल भयो । सशक्त विरोध गरेर जाने भन्ने भयो’, पाण्डेले भने । 

यस्तै, रास्वपाका सचेतक सन्तोष परियारले सरकारले राजनीतिक षडयन्त्र गर्न खोजेको टिप्पणी गरे । उनले कांग्रेस-एमालेले चलाएको हस्ताक्षर अभियानको प्रतिपक्षी दलले गम्भीर रूपमा समीक्षा गरेको पनि बताए । 

‘सरकारले राजनीतिक षडयन्त्र गर्न खोजेको र सर्वसत्तावाद लाद्न खोजेको विषयमा हाम्रो छलफल भयो । यो व्यवस्था र संसद्‌माथि जसरी आक्रमण भइरहेको छ, विधायिकालाई जसरी कमजोर बनाउने षडयन्त्र भइरहेको छ यसका विरुद्ध सबै विपक्षी दल एकजुट हुने सहमति भएको छ’, उनले भने, ‘यो हस्ताक्षर उपसभामुखलाई हटाउन मात्र होइन, अन्य प्रयोजन र षडयन्त्रका लागि, धेरै किसिमको राजनीतिक चलखेलका लागि प्रयोग हुन सक्छ, त्यसकारण यसको सशक्त प्रतिरोध गर्ने भन्ने निर्णय भयो ।’

salt training

कमेन्ट गर्नुहोस्