
सर्वोच्च अदालतले डिम्ब निष्कासन र भण्डारणमा रोक लगाउन अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता अंकिता त्रिपाठी लगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो ।
साथै, सर्वोच्चले यस्तो कार्य रोक्नका लागि नियमन र निगरानीलाई प्रभावकारी बनाउन पनि आदेश दिएको छ ।
'बालबालिकाको मौलिक हक संरक्षण गर्नु विपक्षीहरूको संवैधानिक कर्तव्य रहेको, बालिका तथा किशोरीहरूमाथि शोषण हुन सक्ने जोखिम र सुविधा सन्तुलनलाई समेत दृष्टिगत गरी प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म नेपाल राज्यभर महिला तथा बालबालिकाबाट डिम्ब निष्कासन तथा भण्डारण गर्ने कार्यमा रोक लगाई सरकारको नियमन र निगरानी प्रभावकारी बनाउनू भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)का बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ,' सर्वोच्चको आदेशमा भनिएको छ ।
किशोरीहरूलाई प्रलोभनमा पारी डिम्ब तस्करी हुँदै आएको समाचार केही समयअघि सार्वजनिक भएका थियो ।
यस किसिमको तस्करीलाई पूर्ण रूपमा रोक लगाउन प्रधानमन्त्री कार्यालय समेत सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर भएको थियो ।
सर्वोच्चले यो रिटलाई अग्राधिकार दिनुका साथै विपक्षीका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ ।