
भारतको दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार बिहान सिभिल लाइन्सस्थित उनको सरकारी निवासमा भइरहेको जन सुनुवाइ कार्यक्रममा आक्रमण भएको छ । घटनामा संलग्न रहेको आरोपमा झन्डै ३० वर्षीय एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक विवरणअनुसार मुख्यमन्त्री नागरिकहरूसँग प्रत्यक्ष संवाद गरिरहेका बेला एक व्यक्तिले अघि बढेर कागज बुझाउँदै ठूलो स्वरमा अपशब्द प्रयोग गर्दै उनको हात तान्ने प्रयास गरेका थिए । यसक्रममा केही धक्का-मुक्का भएको र टाउको टेबलको कुनामा ठोक्किएको बताइएको छ ।
केही सञ्चारमाध्यमहरूले शुरूआती रूपमा मुख्यमन्त्रीलाई थप्पड हानेको र कपाल तानेको समाचार प्रसारण गरे पनि दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले ती दाबीलाई बनावटी भन्दै खारेज गरेका छन् । उनका अनुसार घटनामा हल्का धक्का-मुक्का मात्र भएको हो ।
सचदेवाले मुख्यमन्त्रीलाई तत्कालै अस्पताल लगिएको र डाक्टरहरूले स्थिर भएको बताएका उल्लेख गरेका छन् ।
‘यसले केही मानसिक आघात पारेको छ, तर उहाँले आफ्ना कार्यक्रम रद्द नगर्ने स्पष्ट गर्नुभएको छ । जन सुनुवाइ कार्यक्रम निरन्तर चल्नेछ’ उनले भने ।
मुख्यमन्त्री कार्यालयका स्रोतका अनुसार सुरक्षा प्रमुखले यो घटनालाई ‘गम्भीर शारीरिक आक्रमण’का रूपमा वर्णन गरेका छन् ।
दिल्ली प्रहरीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।