
उपसभामुख इन्दिरा रानामगरलाई हटाउनका लागि खाली कागजमा हस्ताक्षर गर्ने कांग्रेस–एमाले सांसदलाई राप्रपा नेतृले धिक्कार भनेपछि संसद्मा नियमापत्ति भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर राप्रपाकी रोशन कार्कीले उपसभामुखलाई हटाउन गरिएको प्रयासप्रति आपत्ति जनाएकी थिइन् ।
‘हिजो उपसभामुखलाई हटाउन नौटंकी देखियो, खाली कागजमा हस्ताक्षर गर्न दिने कस्ता दल हुन, हस्ताक्षर गर्ने कस्ता माननीय हुन् ? धिक्कार !’, कार्कीले भनिन् ।
त्यसलगत्तै नियमापत्ति गर्दै एमाले सांसद सूर्य थापाले मण्डलेतन्त्रविरुद्ध लडेर आएका जनप्रतिनिधिलाई कस्तो कागजमा हस्ताक्षर गर्ने या नगर्ने भन्ने थाहा भएको बताए ।
सांसद कार्कीले लगाएको आरोप लान्छानायुक्त रहेको भन्दै संसद्को रेकर्डबाट हटाउन उनले माग गरे ।
‘भर्खरै बोल्ने माननीयले सांसदलाई लान्छनापूर्ण अभिव्यक्ति दिनुभएको छ । हामी मण्डलेतन्त्रविरुद्ध लडेर आएका जनताका सार्वभौम प्रतिनिधि हौं । जनताबाट निर्वाचित भएर आएका हौं, कस्ता कगजमा हस्ताक्षर गर्ने/नगर्ने भन्ने जानकार छौं’, थापाले भने ।
कार्कीको भनाइ हटाउन सांसद थापाले गरेको अनुरोधमा सभामुख देवराज घिमिरेले ध्यानाकृष्ट भएको बताए ।
उपसभामुखलाई हटाउन हस्ताक्षर गरेको भन्दै प्रतिनिधिसभा बैठकमा रास्वपाले समेत विरोध जनाएको थियो ।