२७ असार २०८३, शनिबार
नेपाली क्रिकेट टोलीको अस्ट्रेलिया भ्रमण

सोमपालले पाँच विकेट लिएपछि नेपालले मेलबर्न रेनगेड्सलाई ३३ रनले हरायो

भदौ ४, २०८२
काठमाडौं
सोमपालले पाँच विकेट लिएपछि नेपालले मेलबर्न रेनगेड्सलाई ३३ रनले हरायो

अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जीत हासिल गरेको छ । नेपाली टोलीले बुधबार सम्पन्न आफ्नो पाँचौं खेलमा मेलबर्न रेनगेड्स एकेडेमीलाई ३३ रनले हरायो ।

नेपालले टस जिती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मेलबर्न रेनगेड्सले भने निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ६ रनमात्र बनाउन सक्यो ।

मेलबर्न रेनगेड्सलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर सोमपाल कामी एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा केवल १५ रन खर्चिए । उनले अन्तिम ओभरमा दुई विकेट लिए । कुशल भुर्तेलले पनि दुई विकेट कुम्ल्याए । साहब आलम र रुपेश सिंहले पनि एक–एक विकेट हात पारे ।

मेलबर्न रेनगेड्सका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाए । जय लेमिरले १८, ओपनर ह्यारी डिक्सनले १६ र ओली पिकले १४ रन बटुले । नेपाली टोलीका बलरले किफायती बलिङ गर्दै अतिरिक्त रूपमा केवल ६ रन खर्चिए ।

त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालले पारीको सन्तोषजनक शुरूआत गर्न सकेको थिएन । नेपाली टोलीका कप्तान रोहित पौडेलसँगै नियमित ओपनर आसिफ शेख, प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेलगायतका खेलाडी मेलबर्न रेनगेड्स एकेडेमीविरुद्धको खेलमा मैदानमा ओर्लिएका थिएनन् ।

ओपनर कुशल भुर्तेल एक रन बनाउँदै पेभेलियन फर्किए । अर्का ओपनर भीम सार्की पनि १७ रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएका आरिफ शेख पनि १२ रनमै आउट हुँदै पेभेलियन फर्किए ।

टोलीको कुल स्कोर ३२ रन पुग्नुअघि नै नेपालले तीन प्रभावशाली विकेट गुमाइसकेको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले २९ रनको योगदान गरे । कुशल मल्लले २२ बलको सामना गरी एक छक्का र एक चौका हिर्काए ।

अनुभवी खेलाडी दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । उनले २८ बलको सामना गरी दुई चौका हिर्काए । चौथो विकेट गुमाउँदा नेपाली टोलीले ८० रन बनाएको थियो । गुलसन झा दुई र सोमपाल कामी शून्य रनमै आउट भए ।

लोकेश बमले २४ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका लोकेशले १६ बलमा दुई छक्का र एक चौका पनि हिर्काएका थिए । उनले चारवटै बाउन्ड्री एउटै ओभरमा प्रहार गरेका हुन् ।

नन्दन यादव एक रन बनाउँदै आउट भए । रूपेश सिंहले अविजित १६ रन बनाए । उनले २१ बलमा दुई चौका प्रहार गरे । साहब आलम शून्य रनमा आउट भए ।

मेलबर्न रेनगेड्स एकेडेमीका बलर फर्गस ओ’निल, कलुम स्ट, लचलन ब्याङ्स र माइकल आर्चरले दुई–दुई विकेट लिए । नेपाली टोलीले अतिरिक्त रूपमा १० रन पायो ।

जारी प्रतियोगितामा नेपाली टोलीले हात पारेको यो दोस्रो जीत हो । यसअघि, आफ्नो चौथो खेलमा नेपाली टोलीले होबर्ट हरिकन्स एकेडेमीलाई ६६ रनको फराकिलो अन्तरले हराएको थियो । नेपाली टोली तीन खेलमा भने पराजित भएको थियो ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले हारेको थियो । तेस्रो खेलमा नेपाली टोली मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

टप इन्ड सिरिज अगस्त २४ तारिखसम्म सञ्चालन हुनेछ । जारी शृंखलामा नेपालले आफ्नो छैटौँ तथा अन्तिम खेल शुक्रबार पाकिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ । यो शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ ।

दोस्रो शृंखलामा पनि नेपाली टोलीले कुल पाँच खेल खेल्नेछ । दोस्रो शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्ट २६ तारिखमा पहिलो खेल खेल्नेछ । सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ ।

अगस्त २८ तारिखमा नेपाली टोलीले साउथ अस्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ । सोही दिन नेपालले आफ्नो चौथो खेल पनि साउथ अस्ट्रेलियासँगै खेल्नेछ । नेपालले आफ्नो पाँचौं खेल ३० तारिखमा साउथ अस्ट्रेलियासँगै खेल्नेछ ।

नेपाली टोलीले यी दुबै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।

अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी आईसीसी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्