
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन यथाशीघ्र गर्न माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले समितिको काम अगाडि बढाउन सभापतिको निर्वाचन गर्न माग गरेका हुन् ।
‘संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन र राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनको काम अगाडि बढाउन जोडदार माग गर्दछु’, पाण्डेले भने ।
संघीय निजामती विधेयकमा कुलिङ अप पिरियड सम्बन्धी व्यवस्था गायब भएकोबारे संसदीय छानबिन विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि तत्कालीन सभापति रामहरि खतिवडाले समिति सभापतिबाट राजीनामा दिएका थिए । सभापतिको राजीनामा भन्दा पहिलेदेखि समिति निष्क्रिय रहँदै आएको छ ।
समितिमा संघीय प्रहरी विधेयक, नागरिकता विधेयक लगायत कानून विचाराधीन छन् । यसअघि कांग्रेसको भागमा परेको समितिको सभापति कांग्रेसले नै लिने गरी सत्ता गठबन्धनमा सहमति भएको छ ।