
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरूको आफ्नै संघर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताएकी छिन् ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघद्वारा आज आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला संघको भूमिका’ विषयक गोष्ठीको उनले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हासिल भएको बताएकी हुन् । 'महिलाले महत्त्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेका छन् । त्यो सबै नेपाली महिलाहरूले गरेको संघर्षकै उपलब्धि हो,' उनले भनिन् ।
मन्त्री डा. राणाले नेपाली कांग्रेसकै महिला नेतृहरू मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाको योगदानको स्मरण गर्दै उनीहरू र अरु महिला नेतृहरूको लामो संघर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट पारिन् ।
उनले वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै संघर्ष गर्न बाँकी रहेको बताइन् । उनले विक्रम संवत् २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्तिसम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रही आएको स्मरण गरिन् ।
'अग्रजहरूकै प्रेरणाबाट हामी महिला अधिकारको संघर्षमा लाग्यौं र वर्तमान संविधान र नेपालका विद्यमान कानूनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौं,' उनले भनिन् ।
वर्तमान संविधानले नेपालको संघीय तथा प्रदेश संसद्मा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक भएको उनको भनाइ थियो । नेपाली कांग्रेसकी नेतृ डा. राणाले यी उपलब्धिको रक्षा गर्दै यो कानूनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यावहारिक बनाउन महिलाले नै संघर्ष गर्नुपर्ने अवस्था आएको उल्लेख गरिन् ।