३१ जेठ २०८३, आइतबार
सरसर्ती २४ घण्टा

भारत र चीनबीचको सहमतिमा नेपालको आपत्ति, आन्दोलनमा निजी विद्यालय सञ्चालक

भदौ ५, २०८२
काठमाडौं
भारत र चीनबीचको सहमतिमा नेपालको आपत्ति, आन्दोलनमा निजी विद्यालय सञ्चालक

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिविना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ । 

प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त शुभाष बस्नेतद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा शहरीकरणलाई व्यवस्थित बनाउन प्राधिकरणले सक्रिय भूमिका निवार्ह गरिरहेको बताए ।

उनका अनुसार जग्गा प्लटिङ, संस्थागत भवन, व्यापारिक तथा सार्वजनिक संरचना, मिश्रित आवासीय, सभा तथा सम्मेलन भवन, सांस्कृतिक तथा भोजभतेर स्थल, अस्पताल, विद्यालय, कलेजलगायत भौतिक संरचना निर्माण गर्न प्राधिकरणबाट अनिवार्य योजना अनुमति लिनुपर्ने प्रावधान भए पनि विभिन्न निकाय र व्यक्तिले अनुमति नलिई अवैध रूपमा निर्माण गर्दै आइरहेका पाइएको छ ।
००००
नेपाल सरकारले लिपुलेक हुँदै भारत–चीनबीच सीमा व्यापारका विषयमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानमै समावेश आधिकारिक नक्साअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यलाई दोर्होयाएको छ ।

यता  भारतको विदेश मन्त्रालयले पनि नेपालले उठाएको सीमा सम्बन्धी टिप्पणीबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।

मन्त्रालयका प्रवक्ता रन्धीर जैस्वालले बुधबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, “भारत–चीनबीच लिपुलेक पासमार्फत सीमा व्यापार १९५४ देखि सुरु भएको हो र दशकौंयता चल्दै आएको छ। कोभिड र अन्य कारणले केही वर्ष अवरुद्ध भए पनि दुवै पक्षबीच सहमतिअनुसार पुनः सुरु गरिएको हो।”

उनले नेपाल सरकारले व्यक्त गरेको असन्तुष्टिबारे प्रतिक्रिया दिँदै भने, “नेपालका भू–सिमा दाबीहरू न त ऐतिहासिक प्रमाणमा आधारित छन् न त यथार्थपरक छन्। एकतर्फी ढंगले कृत्रिम रूपमा दाबी विस्तार गर्नु अस्वीकार्य छ।”
००००
भारत र चीनले लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति गरेका थिए । जसअनुसार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री वाङ यीले भदौ २ र ३ गते गरेको भारत भ्रमणका क्रममा यस्तो सहमति गरेका हुन् ।  
००००
काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाइएको छ । गृह मन्त्रालयको सोमाबारको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छविराज रिजाललाई पठाइएको छ । यस्तै ललितपुरमा सहसचिव सुमन घिमिरे र भक्तपुरमा नमराज घिमिरेलाई सरुवा गरिएको छ ।
००००
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औं केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

उनले लामिछानेसँग भेट गरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको असहजता र सहजताका विषयमा समेत चासो राखेका दाहालको सचिवालय सदस्य दीपक भण्डारीले जानकारी दिए ।
००००
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउन भन्दै काठमाडौंमा नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर संकलन गरिरहेका बेला त्यसका बाछिटाहरू प्रदेशमा समेत पुगेको छ ।

नेताहरूको दाबी अनुसार कांग्रेस–एमाले बाहेकका अरु पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सभामुख र उपसभामुखलाई हटाउनेगरि यी दुई दलले ‘प्याकेज’मै सहमति जुटाउने तयारी गरिरहेका छन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अङ्कले घटेको छ । बुधबार नेप्से परिसूचक ९.७० अङ्कले घटेर २७६७.२० को विन्दुमा बन्द भएको हो ।
अघिल्लो कारोबारका दिन मङ्गलबार मात्रै नेप्से परिसूचक ६.५१ अङ्कले बढेर २७७६ को विन्दुमा बन्द भएको थियो । 
००००
निजी विद्यालयहरूका दुई संगठनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सन र प्याब्सनले आन्दोलन घोषणा गरेका हुन् । 

शिक्षा विधेयकमा संशोधनको माग गर्दै शिक्षा मन्त्रालय, संघीय संसद्को सम्बन्धित समिति र प्रमुख राजनीतिक दललाई पटक(पटक औपचारिक ध्यानाकर्षणपत्र र ज्ञापनपत्र बुझाउँदा पनि सम्बोधन नभएको भन्दै उनीहरूले आन्दोलनमा जाने निर्णय गरेका हुन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस–एमालेले तयारी गरेको भन्दै आपत्ति जनाएको छ । सत्ता गठबन्धनले संसद्माथिको आक्रमण र लोकतन्त्रको तेजबोध गर्न लागेको भन्दै रास्वपाले विरोध जनाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्