१३ असार २०८३, शनिबार

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे कर्णालीका मुख्यमन्त्री कँडेल

भदौ ५, २०८२
काठमाडौं
देउवालाई भेट्न बूढानीलकण्ठ पुगे कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल देउवालाई भेट्न बिहीबार बिहान उनकै निवास बूढानीलकण्ठ पुगेका हुन् । 

भेटमा समसामयिक राजनीतिसँगै, कर्णाली प्रदेश सरकारको काम कारबाही, विकास, समृद्धि र सुशासनका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री कँडेलले जानकारी दिएका छन् ।

त्यसक्रममा देउवाले आफूलाई महत्त्वपूर्ण सुझाव र मार्गदर्शन प्रदान गरेको कँडेलले बताएका छन् ।

केन्द्रमा जस्तै कर्णालीमा पनि कांग्रेस-एमाले गठबन्धनको सरकार छ । सरकारको नेतृत्व एमालेका कँडेलले गरिरहेका छन् भने कांग्रेसका तर्फबाट चार मन्त्री छन् ।

पछिल्लो समय सत्ता सञ्चालनका विषयमा कर्णालीमा कांग्रेस एमालेसँग असन्तुष्ट छ । सत्ता साझेदार दुई दलबीचको मतभेद सार्वजनिक रूपमै देखिने गरेको छ ।

कर्णालीमा सत्ता साझेदार दल कांग्रेसबाटै सरकारको आलोचना भइरहेका बेला मुख्यमन्त्री कँडेलले देउवासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

कमेन्ट गर्नुहोस्