
काठमाडौं, २६ मंसिर — महिलालाई पुरुषसँग बराबरीको दर्जा दिलाउनमा जागरुकता बढेको भएपनि भारतका ग्रामीण इलाकाहरूमा परम्परागत सोचका कारण महिलालाई अझै पनि धेरै कष्ट भोग्नुपरिरहेको छ ।
मध्य प्रदेशको चम्बलमा रहेको एक गाउँ आमेठमा महिलाहरू पुरुषको अगाडि चप्पल खोलेर हिँड्छन् ।
लगभग १२ सयजना रहेको यो गाउँमा महिलाहरूको संख्या लगभग ५ सय छ । बिहान सबेरै उठेर आमेठका महिलाहरू पानीको भाँडो बोकेर डेढ किलोमिटर पर रहेको झरनातिर जान्छन् ।
दिनको सात घन्टा परिवारका लागि पानीको व्यवस्था गर्दा थाकेर चूर भएकी शशिलाई परिवार र समाजमा पर्याप्त इज्जत नपाइएकोमा गुनासो छ ।
शशि भन्छिन्, ‘टाउकोमा पानी वा घाँसको बोझ लिएर हामी गाउँ पस्दा खाटमा बसेका हामीभन्दा ठूला मानिससामु चप्पल खोल्नुपर्छ । एक हातले चप्पल खोल्ने अनि अर्को हातले सामान पक्रिने गर्नुपर्दा हामी आफूलाई सम्हाल्नै सक्दैनौं ।’
शशि भन्छिन्, ‘यस्तो परम्परा वर्षौंदेखि चलिरहेको छ । हामी कसरी यसलाई बदल्न सक्छौं ? बदल्न खोज्यौं भने पनि सासूसुरा, देवर वा पतिले कस्ता बुहारी ल्याइएछ भन्छन् । अलच्छिनी, दिमाग नभएकी, ठूलाको इज्जत नगर्ने, चप्पल लगाएर उफ्रिँदै हिँड्ने भन्छन् ।’
गाउँको चौतारीमा चेस खेलेर बसेका केही पुरुष चाहिँ यो परम्परा पुर्खाहरूले चलाएको बताउँदै महिलाले पुरुषको इज्जतका लागि चप्पल नलगाइकन हिँड्नुपर्ने बताउँछन् ।
महिलाहरूले बर्खामा हिलो भएको बाटो हिँड्दा वा जाडोमा चिसो सडकमा अनि गर्मीमा तातेको पिच बाटोमा हिँड्दा पनि चप्पल नलगाइकन हिँड्नुपर्छ ।
तर शहरबाट फर्केर आएका केही युवाहरू यो परम्परालाई विभेदकारी मान्छन् ।
रमेश भन्छन्, ‘मन्दिरअघि कुनै महिलाले चप्पल लगाएर हिँड्दा सारा गाउँलेले फलानीकी बुहारीले अपमान गरी भन्छन् । तर गाउँका पुरुष जुत्ता चप्पल लगाएर नै मन्दिरको प्रांगणमा जुवा खेलेर बस्छन् । त्यतिखेर चाहिँ भगवानको
अपमान हुँदैन ?’
तर रमेश यो कुरा आफूभन्दा ठूला मानिसलाई बताउन डराउँछन् । मिडियामा खबर आएपछि यो परम्परा बन्द होला भन्ने उनको आशा छ ।
बीबीसीबाट