
सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले लिपुलेकबाट सीमा व्यापार शुरू गर्नेगरी भारत र चीनबीच भएको पछिल्लो सम्झौताको विरोध गरेको छ ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले नेपाललाई जानकारी नदिई नेपाली भूमिमा सीमा व्यापार खोल्ने दुई देशको सहमति अस्वीकार्य रहेको बताएका हुन् ।
‘नेपालको भूमि लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापार गर्ने सहमति भएको कुरा मिडियामा आएको छ । लिपुलेक र कालापानी नेपाली भूमि हो । नेपालको स्वीकृतिबिना नेपालको सहभागिता र जानकारीबना नेपालको भूमिलाई टेकेर सीमा व्यापार गन जे सम्झौता भयो, यसको विरोध गर्न चाहन्छौ,’ बर्तौलाले भने ।
चिनियाँ विदेश मन्त्री वाङ यीको भारत भ्रमणको क्रममा अगस्ट १९ मा लिपुलेकबाट सीमा व्यापार गर्ने सहमति भएको थियो । सत्तापक्षका मुख्य सचेतक बर्तौलाले नेपाललाई जानकारी नदिइ गरिएको सहमतिको विरोध गर्ने बताए । ‘भूगोल, अर्थतन्त्र र जनसंख्याका ठूलो सानो भए पनि सार्वभौमिकता र स्वाभिमानको हिसबले कुनै देश ठूलो सानो हुँदैन । देशको स्वाधिनता, सार्वभौमिकतामाथि आघात हुने कामको सशक्त विरोध र प्रतिरोध गर्छौं’ बर्तौलाले भने ।
उनले उच्चस्तरीय कूटनीतिक संवादको माध्यमबाट यो विषयलाई हल गर्न सरकारको ध्यानाकर्षण गराए ।