३० जेठ २०८३, शनिबार

लिपुलेकबारे भारत–चीन सहमतिको विरोध गर्दै माओवादीले संसद्‌मा माग्यो सरकारको जवाफ

भदौ ५, २०८२
काठमाडौं
लिपुलेकबारे भारत–चीन सहमतिको विरोध गर्दै माओवादीले संसद्‌मा माग्यो सरकारको जवाफ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लिपुलेकमा सीमा व्यापार शुरू गर्नेगरी भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ । माओवादीले भारत र चीनबीच भएको सहमतिबारे संसद्‌मा सरकारको जवाफ पनि माग गरेको  छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नेपाललाई जानकारी नदिई लिपु्लेकबारे गरिएको सहमति आपत्तिको विषय भएको बताएका हुन् ।

‘आज नेपाल आमालाई दुखिरहेको छ । छिमेकी मित्रराष्ट्रले नेपाललाई जानकारी समेत नदिई व्यापार नाका खोल्ने सहमतिले गम्भीर बनाएको छ’, उनले भने, लिपुलेक, कालापानी, लिम्पियाधुराबारे नेपाललाई जानकारी नदिई गरिएको सहमतिप्रति आपत्ति र विरोध गर्दछौं ।’

माओवादी केन्द्रले दुई छिमेकी देशसँग कूटनीतिक र राजनीतिक संवादमार्फत् समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएको छ ।

‘राष्ट्रिय सार्वभौमिकता तथा अखण्डताको रक्षा गर्नु सरकारको मुख्य काम हो । यसप्रकारको काममा आवश्यक प्रभावकारी कूटनीतिक पहल अगाडि बढाउन आग्रह गर्छौं’, पाण्डेले भने, ‘सार्वैभौमिकताको रक्षाको काममा दह्रोसँग उभिन र आवश्यक प्रभावकारी कूटनीतिक पहलकदमीमार्फत् दुवै छिमेकीसँग कूटनीतिक र राजनीतिक पहल अगाडि बढाउन सरकारलाई आग्रह  गर्छौं ।’

पाण्डेले यसविषयमा जनताका प्रतिनिधिको थलो सदनलाई जानकारी गराउन तथा नेपालको हितको पक्षमा एकजुट हुन सबै जनतासँग अपिल गरे ।

चिनियाँ विदेश मन्त्री वाङ यीको भारत भ्रमणको क्रममा अगस्ट १९ (भदौ ३)मा लिपुलेकबाट सीमा व्यापार गर्ने बारे दुई देशबीच सहमति भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्