
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका-४ बस्ने २८ वर्षीया सरिता सिर्मल छन् । उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
सरिताले पीडितहरूलाई विभिन्न प्रलोभन देखाई ललाई फकाई हेटौँडाबाट वीरगञ्ज हुँदै भारतको रक्सौलतर्फ लैजान लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट पक्राउ गरेको हो ।
साथै, प्रहरीले तीन जना पीडितहरूलाई उद्धार समेत गरेको छ ।
उनीउपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।