
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले सरकारको निकम्मापनका कारण एउटा ठगी अभियुक्तको वरिपरि बहस घुमेको टिप्पणी गरेका छन् ।
पीडित बचतकर्ताको पैसा फिर्ता र सहकारी ठगीमा संलग्न रहेका कांग्रेस–एमालेका नेतालाई पाता कसेमा यो बहस अन्यत्र मोडिने थापाको भनाइ छ ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा महामन्त्री थापाले रास्वपा सभापति रवि लामिछानेको नाम नलिई ठगीको अभियुक्तको वरिपरि बहस घुमेको टिप्पणी गरेका हुन् ।
‘गोर्खा मिडियाका मान्छे पनि भित्र छन्, एउटा ठगीको अभियुक्तको वरिपरि बहस घुमेको छ । नयाँ दलका साथीहरूलाई आफ्नो नेताप्रति सरकारले पूर्वाग्रह राखेको लाग्या होला । अभियोजन राख्ने क्रममा पनि त्यस्तो भएको लाग्या होला’ थापाले भने, तर, ‘एउटा अदालत होइन ७ वटा अदालतले, सर्वोच्च अदालतले ८ बुँदामा बताएर यसकारण छाड्न सकिँदैन भनेको हो ।’
ठगीको कसुरदारलाई भेट्न र धाप मार्न पूर्वप्रधानमन्त्रीको दौड लागेको भन्दै थापाले कटाक्ष गरे । बुधबार मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नख्खु कारागारमा लामिछानेलाई भेटेका थिए ।
‘राज्यले प्रतिशोध साँधेको भन्ने भाष्य बनाइएको हामी निकम्मा भएर हो । सरकालाई ध्यानाकर्षण गराउन चाहन्छु, साना बचतकर्ताका रकम लाइन लगाएर फिर्ता गरौं । सहकारी ठगीमा संलग्न कांग्रेस–एमालेका नेतालाई पाता कसौं त कसले भन्न सक्छ हामीलाई ?’ थापाले भने, ‘७ वटा अदालतले ठगी भनेका छट्टुले घुमाउने अवस्था किन आइरहेको छ ? हामी कमजोर भएर हो ।’