०९ असार २०८३, मंगलबार

सबै किसिमको बहाल कर सङ्कलन गर्न काठमाडौं महानगरका सबै वडालाई परिपत्र

भदौ ६, २०८२
काठमाडौं
सबै किसिमको बहाल कर सङ्कलन गर्न काठमाडौं महानगरका सबै वडालाई परिपत्र

काठमाडौँ महानगरपालिकाले घर बहाल कर (संस्थागत समेत) सङ्कलन गर्न सबै वडालाई परिपत्र गरेको छ । कामपा प्रशासन विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार लामो समयदेखिको अन्योल र कानुनी विवादलाई स्पष्ट पार्दै सर्वोच्च अदालतले स्थानीय तहको पक्षमा फैसला गरेपछि कामपाले सबै किसिमको बहाल कर बुझाउन ३२ वटै वडालाई परिपत्र गरेको छ । 

सर्वोच्च अदालतको संयुक्त इजलासको फैसलाअनुसार बहाल कर सङ्कलन गर्न निर्देशन दिँदै सम्पूर्ण वडालाई पत्र पठाएको छ । अब कामपाभित्र रहेका सम्पूर्ण घरधनी तथा संस्थाले घर बहाल कर सम्बन्धित संस्था वा घर रहेको वडा कार्यालयमा नै बुझाउनुपर्ने कानुनी रूपमा स्पष्ट व्यवस्था भएको छ ।

सोही फैसलालाई आधार मान्दै कामपाले दुई दिनअघि नै ३२ वटै वडालाई परिपत्र  गरिसकेको छ । पत्रमा भनिएको छ, 'सम्मानित अदालतको संयुक्त इजलासको फैसलाबमोजिम त्यहाँ वडाअन्तर्गत करदाताले तिर्नुपर्ने बहाल कर (संस्थागत बहाल करसमेत) सम्बन्धित वडा कार्यालयबाट सङ्कलनका लागि अनुरोध गरिन्छ ।'

नेपालको संविधानको धारा २२१ र अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । विसं २०७४ चैत १२ गतेको  नेपाल सरकार मन्त्रिपरिषद्को  निर्णयले संस्थागत बहाल कर आन्तरिक राजस्व कार्यालयमार्फत उठाउने व्यवस्था गरेपछि लामो समयदेखि विवादमा रहेको थियो ।

एउटै कर दुई फरक निकायले उठाउन खोज्दा करदातामा अन्योल छाएको थियो भने स्थानीय तह आफ्नो अधिकारमाथि हस्तक्षेप भएको गुनासो गर्दै आएको थियो । उक्त विवादमा मोरङको विराटनगर महानगरेको रिट निवेदन माथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले जेठ २० मा परमादेश जारी गरे पनि पूर्ण पाठ भने केही अघिमात्र आएको हो । कामपाले फैसलाको पूर्ण पाठ आएपछि वडालाई बहाल करअन्तर्गतको सबै कर सङ्कलनका लागि परिपत्र गरेको हो ।

फैसलामा संविधान र कानुनबमोजिम घर बहाल कर सङ्कलन गर्ने अधिकार स्थानीय तहमा नै निहित रहेको स्पष्ट पार्दै यसमा कुनै पनि अवरोध नगर्न विपक्षीका नाममा आदेश दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्