
प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेको बताएका छन् । त्यसका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनले बताएका हुन् ।
सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने बताए ।
कार्यक्रममा कर्णालीले भोगेको पीडा र विकासका सम्भावनाबारे विभिन्न प्रस्तुति दिइएको थियो । कर्णालीको कथा व्यथा र सम्भावनाहरू देखाउने उद्देश्यले कार्यक्रम निर्माण गरेको हो ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा विशिष्ट व्यक्तिहरू र दर्शकहरूबीच भएको कार्यक्रममा माओवादी नेता तथा जनार्दन शर्मा प्रभावकरको समूहले मयुर नाँच देखाएको थियो । त्यस्तै कवि लक्ष्मण गाम्नागे, अर्जुन पराजुलीले कविता प्रस्तुत गरेका थिए।
त्यस्तै, मनोज गजुरेल र चक्र दवाडीले पछिल्लो समय एआईले निम्त्याउन सक्ने संकट र एआईको सम्भावनाबारे प्रहसन गरेका थिए । सुबोध गौतमले प्रहसन देखाएर सबै मन्त्रमुग्ध बनाएका थिए।
गायनतर्फ धिरेन्द्र प्रेमर्षी, टंक आचार्य, शिशिर योगी, रतन देवकोटाले कर्णालीको व्यथा झल्काउने गीतहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा कर्णालीको व्यथा झल्काउने गजल प्रस्तुत गरिएको थियो।
कार्यक्रमका परिकल्पनाकार तथा संयोजक टंक आचार्यले कर्णाली सम्भावनाको खानी रहे पनि राज्यको नजरमा सधै सुदूरमा रहेको उल्लेख गरे । 'कर्णालीको प्रचार प्रसार गर्न मद्दत हुने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो', उनले भने ।