
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा रुपन्देही प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेल छन् । कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश प्रशिक्षण विभाग प्रमुख हुन् ।
रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले ५० वर्षका कँडेललाई बिहीबार राति चितवनबाट पक्राउ गरी रुपन्देही ल्याएको जानकारी दिए । कँडेल कलेज कोर्ष नेपाल प्रालिका सञ्चालन समेत हुन् ।
हजारौं थान नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको जिल्ला कानपुर नौ बस्ती बस्ने २५ वर्षीय अभिषेक यादवलाई साउन ३० गते रुपन्देही प्रहरीले पक्राउ गरेको थियो । यादवको बयानका क्रममा कँडेलको नाम लिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यादवको साथबाट नेपाल र भारतमा रहेका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरूको हजारौं नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम तथा स्टीकरहरू बरामद भएको थियो । उनलाई प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित बसपार्कबाट पक्राउ गरेको थियो ।
बयानका क्रममा यादवले हरिप्रसाद कँडेलका लागि काम गर्दै आएको बताएपछि कँडेललाई पक्राउ गरिएको डीएसपी कार्कीको भनाइ छ ।
चितवनमा शैक्षिक परामर्श केन्द्र चलाउँदै आएका उनले त्यसैको माध्यमबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र कारोबार गर्ने गरेको खुलेको छ ।