
काठमाडौं, २६ मंसिर– प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एउटा एउटा मात्रै सीट जितेको प्रदेश नम्बर ७ मा समानुपातिकको मतगणनामा भने नेपाली कांग्रेस सबैभन्दा अगाडि लागेको छ ।
७ नम्बर प्रदेशमा कांग्रेसबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा मात्रै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । अन्य ८ जिल्लाका १७ निर्वाचन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवारले कब्जा जमाए ।
प्रत्यक्षतर्फ डडेल्धुराबाहेक सबै जिल्लामा हार ब्यहोरेको कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फ प्रदेश ७ मा मंगलवार मध्याह्नसम्म सबैभन्दा बढी १ लाख ७ हजार ५ सय मत प्राप्त गरेको छ ।
प्रदेश नम्बर ७ मा ९७ हजार २ सय ९५ मत प्राप्त गर्दै एमाले दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रले ४३ हजार ८ सय ४७ मत प्राप्त गरेको छ ।
समानुपातिकतर्फ प्रदेश नम्बर ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ५ सय मत प्राप्त गरेको छ भने विवेकशील साझा पार्टीले ७ सय ७५ मत प्राप्त गरेको छ ।
अन्य दलले ३ हजार २ सय १६ मत प्राप्त गरेका छन् ।