
अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपाली टोलीले बलियो प्रतिद्वन्द्वी पाकिस्तान शाहिन्सबाट जीतका लागि एक सय ४५ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङको निर्णय लिएको पाकिस्तानले नौ विकेट गुमाएर एक सय ४४ रन बनायो ।
बलियो पाकिस्तानी टोलीलाई विशाल योगफल बनाउनबाट रोक्ने क्रममा नेपाली बलर सोमपाल कामीले तीन विकेट लिए । उनले चार ओभरमा ३० रन खर्चिए । नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले पनि दुई/दुई विकेट हात पारे । अर्को एक विकेट कुशल भुर्तेलले लिए ।
दीपेन्द्रसिंह ऐरीले दोस्रो ओभरमै लगातार दुई विकेट लिएपछि पाकिस्तानी टोली दबाबमा परेको थियो । दीपेन्द्रले दोस्रो ओभरको तेस्रो बलमा माज सदाकतलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । सदाकत एक रनमै पेभेलियन फर्किए । उनले एडलेइड स्ट्राइकविरुद्धको खेलमा शतक बनाएका थिए ।
त्यसपछि दोस्रो ओभरको अन्तिम बलमा दीपेन्द्रले मोहम्मद फाइकको विकेट लिएका थिए । दीपेन्द्रले उनलाई दुई रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । दोस्रो विकेट खस्दासम्म पाकिस्तानी टोलीले केवल चार रन बनाएको थियो ।
कुशल भुर्तेलले पाकिस्तानको तेस्रो विकेटका रुपमा ओपनर यासिर खानलाई पेभेलियन फर्काएका थिए । १८ रन बनाएका यासिर खानलाई भुर्तेलले सन्दीप लामिछानेद्वारा क्याच गराएका थिए । चौथो विकेट सोमपाल कामीले लिए । उनले घाजी घोरीलाई चार रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् ।
चौथो विकेट गुमाउँदा पाकिस्तानी टोलीको कुल स्कोर ५० रन पनि पुगेको थिएन । पाकिस्तानको पाँचौँ विकेट नन्दन यादवले लिए । उनले क्रिजमा जमिसकेका ब्याट्सम्यान अब्दुल समादलाई कुशल भुर्तेलद्वारा क्याच गराए । समादले २५ बलमा एक छक्का र एक चौकाको मद्दतले २६ रन बनाए ।
यसैगरी, पाकिस्तानको छैटौँ विकेट पनि नन्दन यादवले लिए । उनले मुबासिर खानलाई तीन रनको व्यक्तिगत स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । १०.४ ओभरमा छैटौँ विकेट गुमाउँदा पाकिस्तानले केवल ६० रन बनाएको थियो ।
पाकिस्तानको सातौँ विकेट सोमपाल कामीले लिए । उनले मेहरान मुमताजलाई १० रनको व्यक्तिगत स्कोरमा गुलसन झाद्वारा क्याच गराएका थिए । आठौँ विकेट सोमपाल कामीले लिए । उनले पाकिस्तानी ब्याट्सम्यान मोहम्मद वसिम जुनियरलाई नन्दन यादवद्वारा क्याच गराए ।
पेभेलियन फर्किनुअघि मोहम्मद वसिमले २२ बलमा एक छक्का र दुई चौकाको मद्दतले २३ रन बनाएका थिए । पाकिस्तानले नवौँ विकेटका रुपमा फैसल अकरमलाई गुमाएको थियो । फैसल एक रनको व्यक्तिगत स्कोरमा रन आउट भएका थिए । उनलाई दीपेन्द्र ऐरीले रन आउट गराएका थिए ।
पाकिस्तानी टोलीका कप्तान इरफान खान ४२ रनमा अविजित रहे । लामो समय क्रिजमा टिकेका उनले केवल २६ बलमा एक छक्का र तीन चौका प्रहार गरे । तल्लो क्रमका ब्याट्सम्यान मोहम्मद सलमान एक रनमा अविजित रहे । पाकिस्तानले अतिरिक्त रुपमा १३ रन पायो ।
११ टोलीको सहभागिता रहेको जारी शृंखलामा पाँच खेल खेलेको सिकागो किङ्समेन १० अंकसहित पहिलो स्थानमा छ । ६ खेल खेलेको पर्थ एकेडेमी आठ अंकसहित दोस्रो, पाँच खेल सकेको पाकिस्तान शाहिन्स ६ अंकसहित तेस्रो र समान खेल खेलेको मेलबर्न एकेडेमी ६ अंकसहित चौथो स्थानमा छ ।
यसैगरी, ६ खेल खेलेको एनटी स्ट्राइक ६ अंकसहित पाँचौँ, ६ खेल खेलेको मेलबर्न एकेडेमी ६ अंकसहित छैटौँ, पाँच खेल खेलेको एडलेइड एकेडेमी ६ अंकसहित सातौँ र पाँच खेल सकेको नेपाल चार अंकसहित आठौँ स्थानमा छन् ।
यसैगरी, पाँच खेल खेलेको बंगलादेश ‘ए’ चार अंकसहित नवौँ, पाँच खेल खेलेको होबर्ट हरिकन्स एकेडेमी दुई अंकसहित दशौँ र पाँच खेल खेलेको अस्ट्रेलियन क्यापिटल टेरिटोरी शून्य अंकसहित ११औँ स्थानमा आसिन छन् ।
जारी प्रतियोगितामा नेपाली टोलीले हालसम्म दुई जित हात पारेको छ । नेपाली टोलीले आफ्नो चौथो खेलमा होबर्ट हरिकन्स एकेडेमीलाई ६६ रनको फराकिलो अन्तरले हराएको थियो । आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको थियो ।
त्यसअघि, नेपाली टोली लगातार तीन खेलमा पराजित भएको थियो । नेपाली टोली पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले हारेको थियो । तेस्रो खेलमा नेपाली टोली मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।
टप इन्ड सिरिज अगस्त २४ तारिखसम्म सञ्चालन हुनेछ । यो शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ । दोस्रो शृंखलामा पनि नेपाली टोलीले कुल पाँच खेल खेल्नेछ । दोस्रो शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्त २६ तारिखमा पहिलो खेल खेल्नेछ । सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ ।
अगस्त २८ तारिखमा नेपाली टोलीले साउथ अस्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ । सोही दिन नेपालले आफ्नो चौथो खेल पनि साउथ अस्ट्रेलियासँगै खेल्नेछ । नेपालले आफ्नो पाँचौँ खेल ३० तारिखमा साउथ अस्ट्रेलियासँगै खेल्नेछ ।
नेपाली टोलीले यी दुबै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।
छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।
अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी आईसीसी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ ।